संविधान नेपालीलाई सार्वभौमसत्ता सम्पन्न बनाउने प्रगतीशील दस्तावेज हो : प्रधानमन्त्री

0
180

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान नेपालीलाई सार्वभौमसत्ता सम्पन्न बनाउने सबैभन्दा प्रगतीशील दस्तावेज भएको बताउनुभएको छ । संविधान दिवसको अवसरमा मुल समारोह समितिले राजधानीको टुडिखेलस्थित सैनिक मञ्चमा आयोजना गरेको विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले संविधान सामूहिक चाहना समेटिएको साझा दस्तावेज भएकाले मुलुकलाई बलियो, समृद्ध र मर्यादित बनाउने विश्वास व्यक्त गर्नुभएको हो ।  संविधानमा आवधिक निर्वाचन, मानवअधिकार, कानूनी राज, नियन्त्रण र सन्तुलन सहितको शक्ति पृथकीकरण र स्वतन्त्र न्यायपालिकाको व्यवस्था गरेको उहाँले बताउनुभयो । यस्तै सुदृढ लोकतन्त्रमा प्रयोगमा आएका लोकतन्त्रका विश्वव्यापी सबै अवयवलाई संवैधानिक रुपमा नै सस्थागत गरेको पनि बताउनुभयो ।

प्रधानमन्त्री ओलीले समृद्धि राष्ट्रिय संकल्प भएकाले सबै राजनीतिक दलका नेता र जनतालाई यस राष्ट्रिय दायित्वमा सहयोगी हुन आह्वान पनि गर्नुभयो । प्रधानमन्त्री ओलीले राजनीतिक आन्दोलन र मूल कानून निर्माणको चरण सकिएकाले समृद्धि र विकासमा सहयोगी भावनाका साथ संलग्न हुन आह्वान गर्नुभएको हो । शान्ति, सुशासन, विकास र समृद्धिको लागि संविधानको ‘अक्षर तथा भावना’ अनुरुप कार्यान्वयन गर्नुलाई आफ्नो कर्तव्य ठानेको ओलीको भनाई छ । उहाँले समृद्धिको प्रश्नमा कुरा धेरै भयो, काम भएन भन्ने गुनासा आफुले पनि सुन्दै आएको र अहिले ‘भन्ने’ चरणबाट ‘गर्ने’ चरणमा प्रवेश गरेकाले सपना ‘देखाउने’ चरणबाट परिवर्तन ‘महसूस’ गराउने स्पष्ट पार्नुभयो ।

LEAVE A REPLY