महिला सशक्तीकरणका लागि

0
273

प्रतिष्ठित टाइम म्यागजिनले सन् २०१७ मा यौन हिंसाविरुद्ध आवाज उठाइरहेकाहरूलाई ‘साइलेन्स ब्रेकर’ का रूपमा ‘पर्सन अफ द इयर’ उपाधि दियो । विभिन्न वर्ण, पेसा, भाषा र भर्चुअल रूपमा फरक क्षेत्रका भए पनि यौन हिंसाविरुद्ध आवाज उठाउनेहरूलाई समेटेर सामूहिक नाम ‘साइलेन्स ब्रेकर’ अर्थात् ‘मौनता तोडे’ दिइएको थियो । शक्तिशालीहरूको वर्चश्व रहने टाइमले ‘पर्सन अफ द इयर’ को कभरमा अभिनेतृ एस्ले जुड, अभियन्ता अदामा ल्हु, इन्जिनियर सुसन फलर, गायिका लेखन गीतकार टेलर स्वीफ्ट तथा स्ट्रबेरी फार्ममा काम गर्ने इजाबेला पास्कललाई स्थान दिएको थियो ।

टाइम म्यागजिनको ‘पर्सन अफ द इयर’ का रूपमा ‘साइलेन्स ब्रेकर’ शीर्षकमा आवरण पृष्ठमा छाउने सबै पात्र महिलामाथि हुने यौन हिंसाविरुद्ध आवाज मुखरित गर्नेहरू थिए । अमेरिकाको बहुचर्चित हार्भे वाइनिस्टिन काण्डपछि सोसल मिडियामा जन्मिएको ‘मी टु’ अभियान ‘साइलेन्स ब्रेकर’ लाई ‘टाइम पर्सन अफ दि इयर’ बनाउने प्रमुख कारण थियो ।

‘मी टु’ संस्थाका रूपमा भने त्यसअघि नै स्थापना भैसकेको थियो । ‘गर्ल फर जेन्डर इक्विटी’ की संस्थापिका तराना बुर्कले सन् १९९७ मा आफ्नै आमाको ‘ब्वाइफ्रेन्ड’ बाट पटक—पटक यौन उत्पीडनको सिकार भएकी युवती हेभेनको कथा सुनेकी थिइन् । त्यही कथाले उनलाई सन् २००६ मा ‘मी टु’ संस्था स्थापना गर्न प्रेरित गरेको थियो ।

यद्यपि संसारभर तरंग ल्याउने गरी ‘मी टु’ अभियानको सुरुवात हलिउड अभिनेतृ एलिसा मिलानोले आफूमाथि भएको यौन शोषणविरुद्ध आवाज उठाउँदै ट्वीटरमार्फत गरेकी थिइन् । अमेरिकामा हार्भेकाण्डको रापतापकाबीच मिलानोले ट्वीटरमार्फत यौन दुव्र्यवहार तथा यौन हिंसाको सिकार भएका महिलाहरूलाई ‘मी टु’ ह्यासट्याग प्रयोग गर्न आग्रह गरिन् । यौन शोषण र दुव्र्यवहारका घटनाहरूलाई बाहिर ल्याउन सन् २०१७ को अक्टोबरमा सामाजिक सञ्जालमा ‘:भत्यय’ ह्यासट्यागमार्फत अभियान सुरुवात भएको थियो । ट्वीटरबाट सुरु भएको यो अभियान फेसबुक, इन्स्ट्राग्राम हुँदै संसारभर बिजुली तरंगमा फैलियो ।

युरोपियन देश फ्रान्स, क्यानडा, चीन, हङकङ हुँदै भारत, पाकिस्तान र अफगानिस्तान आदिमा पनि ‘मी टु’ अभियानमा ऐक्यबद्धता जनाउँदै प्रदर्शनहरू भए । सन् २०१८ को फेबु्रवरीमा यो अभियान मध्यपूर्वमा फैलियो । एक अपरिचित मुश्लिम महिलाले हज गर्न जाँदा मक्कामा भएको दुव्र्यवहार फेसबुकमा लेखेपछि ‘मी टु’ को तुफान मध्यपूर्वमा छिरेको थियो । मुश्लिम महिलाहरूले आफूमाथि मक्का जाँदा भएका यौन दुव्र्यवहारविरुद्ध ह्यासट्याग ‘मस्क्यु मी टु’ प्रयोग गरेर विश्वभर फैलाए ।

यो त परिवर्तित महिला सशक्तीकरण आन्दोलनको एउटा सानो उदाहरण मात्र हो । अहिले संसारभर महिला सशक्तीकरणका यस्ता कयौं अभियान र आन्दोलनहरू चलिरहेका छन् जसलाई पढेलेखेका तथा उर्जाशील महिलाहरूले नेतृत्व दिइरहेका छन् । त्यहीमध्येको एक अभियान हो–हलिउडका ३ सयभन्दा बढी अभिनेतृले कार्यस्थलमा हुने यौन दुव्र्यवहारविरुद्ध चलाएको ‘टाइम्स अप’ अर्थात् ‘सकियो अब’ अभियान । यो अभियानलाई नटाली पोर्टमेन, इभा लोङगोरिया, केट ब्लान्चेट आदि प्रसिद्ध अभिनेतृहरूले अगुवाइ गरिरहेका छन् । यो अभियानले कार्यस्थलमा हुने यौन हिंसा तथा दुव्र्यवहारविरुद्ध लड्नुका साथै पीडितहरूलाई कानुनी सहायता एवं आर्थिक सहयोग जुटाउन सहयोग गर्छ ।

‘मी टु’, ‘टाइम्स अप’ जस्ता अभियानमार्फत महिलाहरू नयाँ स्वरूपको महिला सशक्तीकरण अभियानलाई टेवा पुर्‍याइरहेका छन् भन्नेहरू प्रशस्तै छन् । महिला अभियान मूलप्रवाहका रूपमा मुखरित हुन थालेको गतिलो उदाहरणका रूपमा पनि ‘मी टु’ अभियानलाई लिन थालिएको छ । स्मार्टफोन, इन्टरनेट तथा सोसल मिडियाका कारण महिलाहरू आफूमाथि भएको यौन हिंसाविरुद्ध खुलेर बोल्न थालेका छन् । खासगरी सहरी, पढेलेखेका तथा आधुनिक युवा महिलाहरू आफ्नो आवाजलाई मूलधारमा मुखरित गर्न लागिपरेका छन् जसले गर्दा महिला सशक्तीकरणको आन्दोलन मूलधारको आन्दोलनका रूपमा स्थापित हुन थालेको छ । अहिले सोसल मिडियामार्फत महिला सशक्तीकरण आन्दोलन अझ प्रखर हुन थालेको छ ।

इरानमा महिलाले फुटबल हेर्न नपाउने नियम छ । उक्त नियमविरुद्ध पाँच जना इरानी महिलाले गत वैशाखतिर तेहरानको रंगशालामा पुरुष भेषमा पुगेर फुटबल हेरे । उनीहरू पुरुष भेषमा आएको थाहा पाएपछि उनीहरूसँगै बसेका एक पुरुषले भिडियो खिचेर सोसल मिडिया अपलोड गरिदिए । उक्त भिडियो भाइरल भयो । उनीहरूको प्रयासलाई युरोपका इरानी महिलाले सन् २०१८ को विश्वकपमा मैदानमै पुगेर समर्थन जनाए । उनीहरूले विश्वकपमा रंगशालामा खिचिएका तस्बिर तथा भिडियो सेयर गरेर उक्त आन्दोलनलाई सहयोग पुर्‍याएका थिए ।

अमेरिका तथा युरोपका केही देशहरूमा समानता र यौन हिंसाविरुद्ध फरक प्रकारका आन्दोलनहरू पनि सतहमा आएका छन् । अमेरिकाको न्यूयोर्कमा हरेक वर्ष महिलाले पनि छाती देखाउन पाउनुपर्ने भन्दै प्रदर्शन भैरहेको छ । उनीहरूले महिलाले सार्वजनिक ठाउँमा पुरुषलेजस्तै छाती खुल्ला राख्न पाउनुपर्ने बताउँदै आएका छन्, त्यो महिलाका लागि समानता हुने उनीहरूको मत छ । यौंन हिंसाका विरुद्ध युक्रेनी महिलावादीहरूको समूह ‘फेमेन’ ले पनि नांगो छाती आन्दोलन चलाइरहेको छ ।

खासगरी समाजमा बढिरहेको बलात्कार, यौन हिंसा तथा दुव्र्यवहार, कम ज्याला, घरेलु हिंसा, महिलावाद, महिला अधिकार, समानताजस्ता विषयलाई केन्द्रमा राखेर महिला सशक्तीकरणका प्रयास पनि भैरहेका छन् । संयुक्त राष्ट्रसंघलगायतका अन्तर्राष्ट्रिय नियोगहरू पनि महिला सशक्तीकरणमा क्रियाशील छन् । महिला सशक्तीकरणका लागि केही देशले सरकारी तवरबाटै पनि संस्थागत र योजनाबद्ध प्रयासहरू अघि बढाइरहेका छन् ।

अफ्रिकामा महिला सशक्तीकरणका विभिन्न अभियान चलिरहेका छन् । जिम्बाबेमा ‘आकासिंगा’ कार्यक्रममार्फत महिला सशक्तीकरणको प्रयास थालिएको थियो । बेरोजगार एकल आमाहरूको जीवनमा परिवर्तन ल्याउन चलाइएको यो कार्यक्रममा सीमान्तकृत समुदाय तथा दुव्र्यवहारमा परेका महिलालाई तालिम दिएर वन्यजन्तुको संरक्षणमा लगाइएको थियो । जिम्बाबेमा मात्र होइन, अफ्रिकाका कयौं देशमा महिला सशक्तीकरणका लागि कुखुरा बाँड्ने अभियानसमेत चलिरहेको छ ।

एसियाका चीन, भारत आदि देशहरूमा पनि महिला सशक्तीकरणमा थुप्रै आन्दोलन, अभियान तथा प्रयासहरू भएका छन् । भारत सरकारले योजनाबद्ध रूपमा ‘बेटी बचाओ, बेटी पढाओ’ अभियानमार्फत महिला सशक्तीकरणको प्रयासलाई अघि बढाइरहेको छ । बालिकाहरूलाई संरक्षण गर्न र सशक्त बनाउन भारत सरकारले सन् २०१५ देखि यो अभियान चलाइरहेको छ । यस्तै उत्तरप्रदेशको एक अदालतले तीन तलाकको मान्यतालाई नै खारेज गरिदिएको छ । चीनले पनि सरकारीस्तरबाटै महिला सशक्तीकरणलाई अघि बढाइरहेको छ । नेपालमा पनि त्यसतर्फ प्रयासहरू भएका छन् । नेपालले संविधानमै ३३ प्रतिशत महिला आरक्षणको व्यवस्था गर्दै महिला सशक्तीकरणको दिशामा क्रान्तिकारी सुरुवात गरेको छ ।

महिलाहरू पढे–लेखेर जागिरे भएसँगै समान ज्यालाको मुद्दा पनि चर्को रूपमा उठिरहेको छ । यसकै एउटा उदाहरण मान्नुपर्छ, सन् २०१८ मा बीबीसीका महिला कर्मचारीहरूले ‘समान ज्याला, समान काम’ भन्दै ज्यालामा रहेको असमानताविरुद्ध गरेको आन्दोलन ।

अर्कातर्फ, शिक्षा र महिला सशक्तीकरणकै कारण महिलाहरू विश्वभर राजनीतिक शक्तिका रूपमा उदाउन थालेका छन् । बेलायत, नेपाल, बंगलादेश, फ्रान्स, क्रोएसियालगायतका धेरै देशमा कहीँ महिला प्रधानमन्त्री त कहीँ महिला राष्ट्रप्रमुख छन् । त्यसले महिला सशक्तीकरणका लागि भएका सरकारी तथा गैरसरकारी प्रयासहरूले काम गरिरहेको देखाउँछ । यद्यपि अझै पनि सभ्य समाजमा महिलामाथि भैरहेका हिंसाहरूले भने त्यस्ता प्रयासहरू अझै अपुग रहेको देखाउँछन् ।

विश्वमा देखिएका यस्ता नवीनतम अभियानहरूको प्रभाव नेपाली महिलाको लैङ्गिक समानता, महिला अधिकार, महिला विकासलगायतका विषयमा पर्ने निश्चित छ । त्यसो त नेपालमा पनि केही समयअघि विपन्न वादी समुदायका महिलाहरूले सिंहदरबारको गेटमै गरेको अर्धनग्न प्रदर्शन तथा केही दिन पहिले मात्र भएको ‘पेटीकोट आन्दोलन’ मा पनि महिला हिंसाविरुद्धका नवीनतम प्रयासहरूको झझल्को पाइन्छ ।

जे भए पनि महिला सशक्तीकरण २१ औं शताब्दीको प्रखर आन्दोलनका रूपमा देखा परिरहेको छ । सामाजिक सञ्जाल तथा इन्टरनेटको वर्तमान विश्वमा ‘मी टु र ‘टाइम अप’ युग सुरु भएको छ । धेरै महिलाको दृढता र जागरुकताका कारण लंैगिक समानता, कार्यस्थलमा महिलाको उपचार र यौन गतिशीलताजस्ता कुरा सँगसँगै हिँड्न थालेका छन् जसले महिला सशक्तीकरणको अभियानलाई नयाँ उचाइमा पुर्‍याउने पक्का छ ।

 

LEAVE A REPLY