नेकपाभित्रको विवाद : सचिवालय बैठक नै अनिश्चत

0
217

आश्विन २६, २०७५ – सत्ता नेतृत्वकर्ता नेपाल कम्युनिष्ट पार्टी नेकपामा आन्तरिक विवाद चुलिएको छ । प्रदेश इन्चार्ज, सहइन्चार्ज, प्रदेश कमिटी अध्यक्ष र सचिव छनोटबाट सुरु विवादका कारण अहिले बैठक नै प्रभावित हुन थालेको हो । विवाद समाधानका लागि स्थायी कमिटी बैठक बोलाउन नेताहरुले आग्रह गरेपनि दशैं अघि सम्भव नरहेको भन्दै अध्यक्षद्वयले आलटाल गरेको आरोप नेताहरुको छ ।

प्रदेश पदाधिकारी छनोटका क्रममा एकलौटी गरेको भन्दै असन्तुष्ट बरिष्ठ नेता माधवकुमार नेपालले सचिवालयमा पत्र नै दर्ता गराउनुभएको छ भने प्रवक्ता नारायणकाजी श्रेष्ठ समेत सन्तुष्ट हुनुहुन्न । यद्यपी उहाँको पत्रमाथि छलफल भएको छैन । नेताहरुको कार्यव्यस्तताको कारण देखाउदै बारम्बार स्थगित सचिवालय बैठक भोलीका लागि बोलाईएपनि बस्ने निश्चित नभएको नेताहरुको भनाई छ ।  रेडियो कान्तिपुरसँग कुरा गर्दै बरिष्ठ नेता झलनाथ खनालले पार्टी भित्र असन्तुष्टि चुलिएको स्वीकार गर्दै तत्काल स्थायी समिति बैठक बोलाएर समाधान खोज्न आग्रह गर्नुभयो ।

पार्टी बिधि र सिद्धान्तअनुसार चल्न नसकेको बताउदै उहाँले नेताकार्यकर्ताको सम्मान भएन भने पार्टी बलियो नबन्ने तर्क गर्नुभयो । तात्कालिन नेकपा र माओवादी केन्द्रबीच एकीकरण भएको ५ महिना हुँदा समेत तल्लो तहका कमिटीको एकीकरण टुङग्याउन नसक्नु दुखद भएको उहाँको टिप्पणी थियो । सरकारको कामकारवाही प्रति असन्तुष्टि व्यक्त गर्दै उहाँले त्यसमाथि समेत समीक्षा आवश्यक रहेको बताउनुभयो ।

LEAVE A REPLY