सहरमा फिल्म जात्रा

0
544

– राजकुमार बानियाँ

काठमाडौँ लाजिम्पाटस्थित हिमाल एसोसिएसनको अफिसमा  बेग्लै चहलपहल छ । काठमाडौँ इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिवल (किम्फ) को १६ औँ संस्करणका लागि ६० स्वयंसेवी चाहिएका छन् ।

२१ मंसिरदेखि २५ सम्म राजधानीमा चल्ने यो प्रतिष्ठित फिल्म फेस्टिवलका लागि यसपटक ६१ मुलुकबाट ४ सय ६ वटा फिल्म दर्ता भए । त्यसमध्ये ‘मेरिट’ का आधारमा ३१ देशका ७२ फिल्म छानिएका छन् । त्यसमा वैकल्पिक धारका नेपाली फिल्म मात्रै २१ वटा छन् ।

किम्फ यस वर्ष महिला मुद्दामा केन्द्रित रहेको संस्थाका अध्यक्ष वसन्त थापा बताउँछन् । “किम्फको १८ वर्षे यात्रामा सबैभन्दा धेरै फिल्म भेला भए,” थापा उत्साही सुनिन्छन्, “उद्घाटन फिल्म नै माउन्टेन  छ, अस्ट्रेलियाली निर्देशक जेनिफर पिडोमको ।”

नेपाल–अफ्रिका फिल्म फेस्टिवलको सातौँ संस्करण पनि राजधानीमै सुरु भएको छ । १० देखि १२ मंसिरसम्म चल्ने फिल्म फेस्टिवलको आयोजक कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेसन हो । फेस्टिवलमा ११ फिल्म देखाइनेछन् । “नेपाल र अफ्रिकाबीचको दूरी घटाउने अनि सांस्कृतिक आदानप्रदान गर्ने हाम्रो कोसिस हो,” फेस्टिवल निर्देशक मञ्जु मिश्रको दाबी छ, “अफ्रिकनको कल्चर मलाई मन पर्छ । फेस्टिवल अफ्रिका–मोहकै परिणाम हो ।”

दुइटा त भए, मंसिरका फिल्म फेस्टिवल । यीबाहेक पनि राजधानीमा साना–ठूला र नियमित–अनियमित फिल्म फेस्टिवल भइरहेकै छन् । कतिपय त घुम्ती या प्रादेशिक संरचनामा समेत गएका छन् । फेस्टिवलको लहरमा सिनेकर्मी र पारखी दुवै थरी रमाइरहेका  छन् ।

“फिल्म बनाएपछि घरपरिवार या साथीभाइलाई मात्र देखाउने कुरा आउँदैन”, १५ वृत्तचित्रका निर्माता केसाङ छेतेन भन्छन्, “हामीलाई ठूला हलभन्दा पनि दर्शक चाहिन्छन्, त्यसैले फिल्म फेस्टिवल गजबको प्लेटफर्म हो ।” किम्फमा १० वर्षअघि वैदेशिक रोजगारसम्बन्धी सर्चिङ फर रियाल  देखाएका छेतेन यसपटक दर्शकलाई  रियालिस्टको स्वाद पस्कँदै छन् ।

बर्सेनि ‘इन्टरनेसनल माउन्टेन डे’ को छेको पारेर हुने किम्फजस्ता फिल्म फेस्टिवलले स्थानीय फिल्मलाई पनि धेरथोर मलजल गरेका छन् । “दर्शकले नयाँ फिल्म हेरुन्, फिल्म मेकरले नयाँ शैली सिकून् भनेर किम्फ थालेका थियौँ,” थापा थप्छन्, “जाडो महिनामा फुल हाउस फिल्म चल्नुको अर्थ केही हदसम्म हामी सफल भएकै हौँ ।”

केसाङ छेतेन, दीपक रौनियार, मीन भाम, मोहन मैनाली, ध्रुव बस्नेत, भोजराज भाट, दीपेन्द्र भण्डारी, गणेश पाण्डे आदि थुप्रै प्रतिभाशाली सिनेकर्मीले डेब्यु फिल्म किम्फलाई नै सुम्पेका थिए । किम्फको सँघार नाघेर स्प्रिङ बोर्डकै शैलीमा अन्तर्राष्ट्रिय मञ्चसम्म पुगेका उनीहरु रित्तो हात फर्केका छैनन् ।

मूलधार या फर्मुला फिल्म नरुचाउने दर्शक किन पनि ओइरिन्छन् भने यस्ता फिल्म सिनेघरमा लाग्दैनन् । युट्युबमा पनि राखिँदैनन् । मूलत: वृत्तचित्रकै बोलवाला हुन्छ फेस्टिवलमा । पर्वतारोहण, समाज र संस्कृति, जीवनशैली, वातावरण, साहसिक खेलकुद आदि विषयक छोटा फिचर, कार्टुन, एनिमेसन फिल्म देखाइन्छन् । दर्शकमा बेग्लै रुचि र स्वाद निर्माणका साथै परिष्कारमा यस्ता फेस्टिवलको भूमिका हुन्छ ।

 

LEAVE A REPLY