सिनेमाको जस्तो सत्यकथा : आफ्नै साथीहरुको श्रृङ्खलावद्ध हत्या

काठमाडौं । तीनजना व्यवसायीको हत्या अभियोगमा पक्राउ परेका तीनैजनालाई जिल्ला प्रहरी कार्यालय मोरङले शुक्रबार सार्वजनिक गरेको छ । 

शुक्रबार बिहान पत्रकार सम्मेलन गरेर हत्याका मुख्य योजनाकार सिरहाका ३१ वर्षीय अनिल मण्डल, मोरङको जहदा गाउँपालिका–४ सिस्वनीका अमित साह भनिने दिनानाथ सोनार र मोरङको धनपालथान गाउँपालिका–७ कमलपुरका ६२ वर्षीय नासिर आलमलाई प्रहरीले सार्वजनिक गरेको हो । 

सुनसरीका राजेन्द्र कुमार श्रेष्ठ र सप्तरीका शम्भु कुमार चौधरीको हत्या गरी मोरङमा उखु बारीमा गाडेको अवस्थामा माघ १३ गते शव फेला परेको थियो । 

तेह्रथुमका मोहन लिम्बुको शव बिहीबारसाँझ ललितपुरको गोदावारी नगरपालिका १२ स्थित ठेंचोमा गाडीएको अवस्थामा फेला परेको थियो । 

दुबै घटनाका योजनाकार सार्वजनिक गरिएको तीनै जना हुन् । हत्याका मुख्य योजनाकार मण्डल र मारिएका तीनजना एउटै समूहमा व्यवसाय गर्थे । व्यवसायको रकम एकलौटी पार्नका लागि मण्डलले हत्या गरेको प्रहरीको प्रारम्भीक अनुसन्धानमा देखिएको छ ।

यसरी गरेका थिए मोहनप्रसादको हत्या
ललितपुरको गोदावरी नगरपालिका–१२ स्थित दिप्ती गुरुङको घर भाडामा लिएर मोहनप्रसाद लिम्बुको हत्या गरेको प्रहरीको अनुसार खुल्न आएको छ । अनलाइनको व्यापार गर्न गोदाम राख्ने र कार्यालय राख्ने भनेर भाडामा लिएको घरमा मण्डलले उनको हत्या गरेका थिए । 

हत्यामा संलग्नहरूले लिम्बुको घाँटीमा डोरीले कसेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । घाँटीमा डोरी कसेको अवस्थामा शव उत्खनन् गरिएको छ । आरोपीहरुले शुरुमा कोठाभित्रको ढलान काटेर गाड्न खोजेको देखिएको छ ।

धापाखेलमा लिम्बुको हत्या गरेर शव ब्यवस्थापन गरेपछि अनिलकुमार मण्डल शम्भु चौधरी र राजेन्द्रकुमार श्रेष्ठसँगै विराटनगर गएका थिए । त्यहाँ श्रेष्ठलाई पुस ५ मा र शम्भु चौधरीलाई पुस ७ मा हत्या गरिएको थियो । 

श्रृङ्खलावद्ध दुई साथीको हत्या
उनीहरु मंसिर २९ गते एउटै गाडीमा विराटनगर पुगेका थिए । तर श्रेष्ठ र चौधरीलाई लिम्बुको हत्याबारे कुनै जानकारी थिएन । उनीहरु विराटनगरमा एउटा होटलमा बसेका थिए । 

५ दिनपछि राजेन्द्रको हत्या भएको थियो । त्यतिबेला शम्भु चौधरीलाई श्रेष्ठको हत्या भइसकेको पनि जानकारी नभएको प्रहरीले जनाएको छ । 

चौधरीको हत्या शव भेटिएको उखुबारीबाट करिब एक सय मिटर उत्तरमा भएको थियो ।  डोरी र गम्छाले घाँटीमा कसेर हत्या गरेको खुलेको छ । 

श्रेष्ठको हत्या भएको दुई दिनपछि त्यही ठाउँमा लगेर चौधरीको पनि हत्या गरेका थिए । 
गत माघ १२ गते साँझ साढे ५ बजेतिर धनपालथान गाउँपालिका–७ स्थित दिलिप सिंहको उखुबारीमा खाल्डो खनेको जस्तो देखिएपछि स्थानीयले इलाका प्रहरी कार्यालय रंगेलीमा खबर गरेका थिए । 

प्रहरीले घटनास्थलमा पुगेपछि आसपास समेत खोजी गर्दा अर्को ठाउँमा पनि त्यस्तै खाल्डो खनिएको फेला पारेको थियो ।  प्रहरीले त्यही साँझ एउटा खाल्डो खनेको थियो । 

५ फिट गहिरो खाल्डोभित्र  ३२ वर्षीय शम्भुकुमार चौधरीको शव फेला परेको थियो ।  तर तत्काल सनाखत भने हुन सकेको थिएन । भोलिपल्ट कुकुरसहितको टोली लगेर अनुसन्धानपछि अर्को खाल्डो खोतलिएको थियो । 

१३ गते खनिएको खाल्डोमा ४८ वर्षीय राजेन्द्र कुमार श्रेष्ठको शव फेला परेको थियो । घटनास्थलमै पर्स फेला परेको थियो ।  पर्सभित्र रहेको सवारी चालक अनुमति पत्र र कपडाको आधारमा श्रेष्ठको सनाखत भएको थियो । 

तर चौधरीको भने उनले लगाएका कपडा र दाहिने नाडीमा बाँधेको राखी र रुमालका आधारमा उनका परिवारले १५ गते सनाखत गरेका थिए । कमलपुरतर्फ जाने नहरमा मारेर उनीहरुको शव उखुबारीमा गाडेको प्रहरीले जनाएको छ । 

यी दुई जनाको हत्याको अनुसन्धान गर्ने क्रममा प्रहरीले उनीहरुसँगै व्यवसाय गरिरहेका दुई जनालाई केन्द्रमा राखेर अनुसन्धान शुरु गरेको थियो । 

मण्डललाई प्रहरीले तत्कालै पक्राउ गरेको थियो । तर उनले अपराध स्वीकार गरेका भने थिएनन् । यस्तै सोही घटनाको आशंकमा मोरङ प्रहरीले पनि दुई जनालाई पक्राउ गरेको थियो । 

तीन जना पक्राउ परेसँगै लिम्बुको पनि हत्या मण्डलले गरेको बिहीबार साँझ स्वीकार गरेका थिए । उनीहरुले नै लिम्बुको शव गाडेको स्थान बताइदिएपछि प्रहरीले बिहीबार साँझ लिम्बुको शव उत्खनन् गरेर निकालेको हो ।  

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.