के आजको मन्त्रिपरिषद् बैठक गठबन्धनको  अन्तिम बैठक होला ? 

काठमाडौं । आज मन्त्रिपरिषद्को बैठक दिउँसो २ बजे बस्दै छ । यो बैठक  नियमति कार्यतालिका अनुसार नै बस्न लागेको हो । 

मन्त्रिपरिषद्को  बैठक नियमित रुपमा सोमबार र बिहीबार बस्ने गर्छ । आज बस्न लागेको मन्त्रिपरिषदको बैठकलाई विशेष रुपमा हेरिएको छ । किनभने आजको बैठकको निर्णयले देशको राजनीतिक दिशाको छिनोफानो गर्ने छ । 

संभवत यो बैठक मन्त्रिपरिषदको अन्तिम बैठक हुनसक्ने  संकेत राजनीतिक घटनाक्रमले देखाइसकेको छ  । हिजोको माओवादीको निर्णय र बानेश्वरमा भएको तनावपूर्ण स्थिती त्यसको विम्व हो । 

आजको बैठकमा एमसीसी बारे विशेष छलफल  हुने र यो बैठक गठबन्धनको लागि अन्तिम हुन सक्ने जानकारहरु बताउँछन् ।  नेकपा माओवादी केन्द्रले यथास्थितिमा एमसीसी अघि बढाए सरकार छोड्ने निर्णय गरिसकेको छ । ‘यस्तो अवस्थामा गठबन्धनको मन्त्रिपरिषद आज अन्तिम हुनपनि सक्छ’ एक कांग्रेस नेताले क्विक नेपालसँग  भने । 

यहि विषयलाई लिएर आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच  बालुवाटारमा छलफल भएको थियो । दुवै आफ्नो अडानबाट पछि हट्न नसकेपछि छलफलले निकास पाउँन सकेको थिएन ।

यसै क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीको पक्षमा उभिन डराउन नहुने बताएका छन् । उनले आफु एमसीसी पास गर्न लागिरहेको भन्दै संसदमा टेबल भएपछि पास फेल जे हुन्छ त्यसलाई स्वीकार गरेर जाने समेत बताए । 

‘पास फेल के हुन्छ थाहा छैन । हामीले संसदीय दल र कार्य सम्पादन समितिबाट सर्वसम्मत रुपमा पास गर्ने निर्णय गरिसकेका छौं । त्यसका लागि मैले पहल गरिरहेको छु’ देउवाले भने, ‘एमसीसीको पक्षमा उभिन डराउनु हुँदैन । यो राष्ट्रको हितमा छ । हामी आफ्नो अडानमा उभिएर जानुपर्छ ।’  

एमसीसीप्रति नेपाली नागरिकको धारणा नकारात्मक बन्दै गएपछि अमेरिका समेत केही व्याक भएको माओवादी नेताहरुको बुझाई छ । हिजो नारायनकाजी लगायतका  माओवादी  नेताहरु सडकमा नै आएर एमसीसीको विरोध गरेका थिए । उनीहरु कुनै हालतमा एमसीसी पास गर्न नदिने भए सरकार छोड्ने चेतावनी दिरहेका छन् ।  

यसैबीच सूचना तथा सञ्चारमन्त्री समेत रहेका ज्ञानेन्द्रबहादुर कार्की र माओवादीका केही नेताबीच भएको छलफलमा माओवादी नेताहरुले सहमति विना एमसीसी अघि नबढाउन  आग्रह गरेका छन् ।  

तर प्रधानमन्त्री र कांग्रेसका मन्त्रीहरु भने जसरी पनि एमसीसी अघि बढाएरै छोड्ने तयारीमा छन् । जसले गर्दा सम्भवत आज बस्न लागेको मन्त्रीपरिषद्को बैठक र  बेलुका बस्ने सत्ता गठबन्धनको बैठकपछि औपचारिक रुपमा गठबन्धन टुटेको घोषणा हुनेछ ।

 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.