एमसीसी बारे कुन दलले के गरे आज ? (विवरणसहित)

काठमाडौं । बिहीवार संसदमा एमसीसी अनुमोदन गर्ने गरि सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले तयारी थालेको थियो । त्यसको लागि विहानै सत्तारुढ दलका नेताहरुबीच छलफल भएको थियो । छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेपछि प्रधानमन्त्री झस्किएका थिए । 

नेकपा एकीकृत समाजवादीका अध्यक्षले के गर्ने नगर्ने टुंगो लगाउन सकेको थिएन । सोही पार्टीका बरिष्ठ नेता झलनाथ खनालले एमसीसी कुनै हालतमा पास गर्न नदिने अडान कायम राखेका थिए । 

यस्तै नेकपा एमालेले संसदीय प्रक्रियामा भाग नलिने र संसदअवरुद्ध जारी नै राख्ने बताएको थियो । जसपाबाट पनि पूर्ण सांसदहरु एमसीसीको पक्षमा देखिएनन् । त्यस लगतै एमसीसी अनुमोदन नहुने संकेत देखेपछि सहमतिको लागि पहल थाल्ने बताउँदै प्रधानमन्त्रीको आग्रहमा विशेष कारण देखाउँदै शुक्रवार १ बजेसम्मका लागि संसद बैठक स्थगित भयो ।

त्यस लगतै प्रधानमन्त्री देउवाले भेटवार्तालाई बढवा दिएका छन् । भोली १ बजे एमसीसीलाई अनुमोदन गर्ने गरि उनले प्रयास अघि बढाएका छन् । संसद बैठक स्थगित भएपछि एमाले अध्यक्ष केपी शर्मा ओली संसद भवनमा रहेको संसदीय दलको आफ्नो कार्यकक्षमा रहेका थिए ।

प्रधानमन्त्री देउवा ओलीको कार्यकक्षमा पसेर केहीबेर कुराकानी गरे । त्यसपछि साँझ पुनः बालुवाटारमा भेट गर्ने गरि प्रधानमन्त्री देउवा ओलीसँग छुटेका थिए । साँझ ओली प्रधानमन्त्री देउवालाई भेट्न उपनेता सुवास नेम्वाङ, बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेलसँगै बालुवाटार लाग्ने तयारीमा छन् ।

प्रधानमन्त्री देउवा ओलीलाई भेट गरेर निस्किएलगतै माओवादीका अध्यक्ष प्रचण्ड ओलीको कार्यकक्षमा गएर छलफल गरेका थिए । प्रचण्डले आवश्यकताका आधारमा बरु एमालेलाई सहयोग गर्ने तर त्यसका लागि एमालेले संसदीय प्रक्रियामा सहभागी भएर एमसीसीको विपक्षमा मतदान गर्न अनुरोध गरेका थिए । 

उत्तरमा एमाले अध्यक्ष ओलीले एमसीसी एमालेको चासोको विषय नरहेको भन्दै संसदीय प्रक्रियामै सहभागी नहुने बताएका थिए । अध्यक्ष ओलीले सभामुख अग्नीप्रसाद सापकोटाको राजिनामा पछि मात्रै अरु निर्णय वारे सोच्ने बताएका थिए । त्यस लगतै प्रचण्ड निस्केका थिए ।

यता नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाल दिनभर मौन रहे । उनका पार्टीका बरिष्ठ नेता खनाले भने गठबन्धन टुटेपनि फरक नपर्ने भन्दै एमसीसीविरुद्धको धारणा राखिरहे । बिहीवार नै विहानतिर प्रधानमन्त्री समक्ष प्रचण्डले एउटा प्रस्ताव राखेका थिए । प्रचण्डले एमसीसीको विपक्षमा मतदान गर्ने तर सरकार नछोड्ने प्रस्ताव गरेका थिए । त्यसको उत्तरमा प्रधानमन्त्री देउवाले त्यो संभव नभएको बताउँदै अस्विकार गरेका थिए ।

यता एमसीसीको विषयमा आफ्नै पार्टीमा विभाजन कायम रहेको जनता समाजवादी पार्टीका संघिय परिषद् अध्यक्ष बाबुराम भट्टराई प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका छन् । एमसीसी पास गनुपर्ने भन्दै त्यसको लागि छलफल गर्न उनी बालुवाटार पुगेको बताइएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.