छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषध सहित आठ जना पक्राउ

काठमाडौं ।  देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

झापाको बुद्धशान्ती गाउँपालिका–३ बुद्धटोलबाट १०२ ग्राम ब्राउन सुगरसहित कचनकवल गाउँपालिका–१ का ३१ वर्षीय मोहमद हुसेनलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । 

लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा हुसेनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 

थप अनुसन्धानको क्रममा उक्त लागूऔषध मेचीनगर नगरपालिका–८ मेची आवास बस्ने २८ वर्षीय बिकाश राजबंशीले खरिद गरी ल्याएको भन्ने खुलेको थियो । त्यसपछि प्रहरीले उनको समेत कोठा तलासी गर्दा थप २५ ग्राम २५० मिलिग्राम ब्राउन सुगर भेटाएको थियो । हाल फरार रहेका बिकाश राजबंशीको प्रहरीले खोजी गरिरहेको छ ।

सिरहाको धनगढीमाई नगरपालिका–५ तेतिस बिघास्थित सडकबाट १० ग्राम ९२० मिलिग्राम ब्राउन सुगर र नगद २९ हजार रूपैयाँसहित सोही नगरपालिका–१३ बस्ने १८ वर्षीय किशोर समेत २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । 

स.८ प २२९९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ र नगद सहित फेला पारी पक्राउ गरेको हो । 

बर्दियाको बढैयाताल गाउँपालिका–२ बैसठ्ठी नम्बर पिलर चोक फुटाहबाट २ ग्राम ८५० ब्राउन सुगरसहित बाँके खजुरा गाउँपालिका–६ बस्ने १८ वर्षीय किशोर समेत २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । 

भे.१२ प ४१९७ नम्बरको स्कुटरलाई प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

कैलालीको धनगढी उपमहानगरपालिका–१ कारागार नजिकबाट सोही उपमहानगरपालिका–८ बस्ने २४ वर्षीय आयुष सिंहलाई एक ग्राम खैरो हेरोईनसहित शनिबार प्रहरीले पक्राउ गरेको छ ।

दाङको लमही नगरपालिका–९ अमिलियाबाट ३९५ ग्राम चरेशसहित जाजरकोट जुनचाँदी गाउँपालिका घर भई सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१२ चनौटे बस्ने १७ वर्षीय किशोर सहित २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।  

प्रदेश ३–०२–००२ प ७९२३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई इलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.