यसकारण भयो नेपाल एयरलाइन्स हङकङ उडान गर्नबाट वञ्चित

 काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) काठमाडौं–हङकङ उडान भर्नबाट वञ्चित भएको छ । 

मंगलबार निगमको न्यारोबडी जहाज (उडान नम्बर ४०९) चढेर हङकङ पुगेका पाँच यात्रुमा कोरोना संक्रमण पुष्टि भएपछि नेपाललाई हङकङले उडान  भर्नबाट वञ्चित भएको हो ।

निगमले सूचना नै जारी गरेर हङकङले उडानमा प्रतिबन्ध लगाएको जानकारी दिएको छ । निगमका सहप्रवक्ता ज्ञान अर्यालले दुई सातासम्मका लागि निगमले हङकङ उडान भर्न नपाउने बताए । 

अर्यालले भने, ‘हामीले हङकङ उडानमा तारन्तार समस्या भोगिरहेका छौं । निर्धारित उडानसमेत गर्दा यो पटक प्रतिबन्धको असर २१ दिनसम्म पर्ने भएको छ ।’ 

हङकङले कुनै उडानबाट त्यहाँ पुगेकामध्ये दुई जनासम्मलाई कोरोना संक्रमण देखिए प्रतिबन्ध लगाउँदैन ।

यसअघि पनि हङकङले निगमको जहाज उडानमा पटकपटक प्रतिबन्ध लगाएको थियो । नेपालबाट संक्रमणमुक्त रहेको प्रमाणपत्र लिएर गएका यात्रुहरूको स्वाब परीक्षण गर्दा हङकङमा संक्रमित पुष्टि हुने घटना दोहोरिँदै आएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.