माघ-२ बाट अनलाइन प्रणालीबाट मात्र श्रम स्वीकृति हुने

काठमाडौं ।  आइतवारदेखि  सरकाले अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति दिने भएको छ ।  गत २०७७ पुसबाट भौतिक उपस्थिति र अनलाइन दुवै माध्यमबाट पुनः श्रम स्वीकृति  दिँदै आएको थियो । तर  वैदेशिक रोजगार कार्यालय, काठमाडौंले भोली ( आइतवार ) देखि  अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति दिने भएको छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई  सहज र सरल तथा आधुनिक विज्ञान र प्रविधिको प्रयोग गरि सहज माध्यमले सेवा  प्रवाह  गर्न निर्देशन गरेपछि  पुनः श्रम स्वीकृतिको काम अनलाइन प्रणालीबाट मात्र गर्न लागिएको कार्यालय प्रमुखले बताए ।

  अनलाइनबाट श्रम
 स्वीकृतिको काम हुने भएपछि घन्टौँदेखि लाइनमा  कुरेर बस्नुपर्ने बाध्यताको अन्त्य हुने भएको छ । अनलाइन माध्यमबाट काम हुने भएपछि लाइनमा बस्नुपर्ने बाध्यता हट्नुका  साथै समयको बचत हुनेछ ।  यस सेवा  लिनका लागि सेवाग्रहीले कार्यालयले  तोकेको  सर्तहरु पुरा गर्नुपर्नेछ ।


पुनः श्रम स्विकृतिको लागि म्यादी जीवन विमा र वैदेशिक रोजगार कल्याण कोषको रकम अनलाइन भुक्तानी  गर्नुपर्ने हुन्छ । म्यादी जीवन बीमा उमेर अनुसार १८ वर्ष देखि ३५ वर्षसम्म ३ हजार ७ सय ८, ३६ वर्ष देखि ५० वर्षसम्म  ४ हजार ९ सय ३१ र ५१ वर्ष देखि ६४ वर्षसम्म ९ हजार ४ सय ६३ रुपैयाँ शुल्क तिर्नुपर्छ ।

वैदेशिक रोजगार कल्याणकारी कोषको लागि १ हजार ५ सय रुपैयाँ तिर्नुपर्छ । पुनः श्रम स्वीकृतिको लागि पासपोर्ट साइजको फोटोको स्क्यान कपी, राहदानीको स्क्यान कपी, सम्बन्धित देशबाट आएको भिसाको स्क्यान कपी, पुरानो श्रम स्वीकृतिको स्क्यान कपी र पुरानो भिसा भए सो को स्क्यान कपी आवश्यक पर्छ ।

त्यसैगरि अध्यागमन कार्यालयले राहदानीमा लगाएको डिपार्चर र अराइभल स्टाम्प भएको राहदानीको स्क्यान कपी, यसअघि श्रम स्वीकृति लिएको भन्दा फरक काम गर्न जाने भएमा कामदारका लागि रोजगारदाताले उपलब्ध गराएको जब अफर लेटर वा सम्झौतापत्रको स्क्यान कपी पनि आवश्यक पर्ने कार्यालयले जनाएको छ ।

घरेलु कामदारको हकमा वैदेशिक रोजगारमा घरेलु कामदार पठाउने सम्बन्धी निर्देशिका, २०७२ को दफा १८ घ बमोजिम सम्बन्धित देश स्थित नेपाली राजदूतावास वा कूटनीतिक नियोगको अनुसूची ८ बमोजिमको सिफारिश पत्रको स्क्यान कपी आवश्यक पर्दछ ।

वैदेशिक रोजगार कार्यालय काठमाडौंले संस्थागत श्रम स्वीकृति, पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृति दिने गरेको छ । संस्थागत श्रम स्वीकृतिका लागि सेवाग्राही कार्यालय आइरहनुपर्दैन, सम्बन्धित म्यानपावर व्यवसायी मात्र आउने गर्छन ।

वैदेशिक रोजगार कार्यालयबाट चालु आर्थिक वर्षको पुस सम्ममा पुनः श्रम स्वीकृतितर्फ करिब १ लाख जना, संस्थागततर्फ १ लाख ८० हजार र व्यक्तिगततर्फ ८ हजार जना भन्दा बढीले सेवा लिएको कार्यालयले जनाएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.