काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका–२०७५ सरकारले संशोधन गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रस्तावमा पुस ३० गते बसेको मन्त्रीपरिषद् बैठकले निर्देशिका संसोधन प्रस्ताव स्वीकृत गरेको हो ।
कार्यक्रम सञ्चालन निर्देशिका संशोधन स्वीकृति भएसँगै कार्यक्रममार्फत सञ्चालित योजनामा काम गर्ने श्रमिकले पाउने पारिश्रमिक बढेको छ भने सबै श्रमिकको बिमा अनिवार्य भएको छ ।
स्रोतको अनुसार मन्त्रालयले श्रमिकको दैनिक ज्याला कम्तिमा पाँच सय ७७ रुपैयाँ हुनेछ । यसअघि प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तरगत सञ्चालित योजनामा बेरोजगार युवाले दैनिक रुपमा पाँच सय १७ रुपैयाँ ज्याला पाउँदै आएका थिए ।
सरकारले कार्यक्रमअन्तर्गतमा आवद्ध श्रमिकको पाँच लाख रुपैयाँको सामूहिक कार्यस्थल दुर्घटना बिमाको व्यवस्था पनि गरेको छ । निर्देशिका अनुसार श्रमिकको बढेको ज्याला र बिमा संशोधित निर्देशिका राजपत्रमा प्रकाशित भएकै दिनदेखि लागू हुने मन्त्रालयले जनाएको छ । मन्त्रालयले बिमाका लागि चालू आर्थिक वर्षमा दुई करोड बजेट विनियोजन गरेको छ ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले पाँच वर्षभित्र बाध्यकारी वैदेशिक रोजगारी अन्त्य गरी आन्तरिक रोजगारी प्रवद्र्धन गर्ने उद्देश्यले यो कार्यक्रम अघि सारेका हुन् । बेरोजगारलाई वर्षमा कम्तिमा पनि सय दिन रोजगारी दिने यो कार्यक्रम २०७५ सालदेखि सञ्चालित छ ।