ओमिक्रोनको प्रभाव कोरोनाको पुरानो भेरियन्ट भन्दा कमजोर, औसत आयु १५ मिनेट मात्र

काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पहिलेको भेरियन्टभन्दा कमजोर रहेको नयाँ अध्ययनले खुलेको छ । कोरोनाको अघिल्लो भेरियन्टहरु बाहिरी वातावरण वा हावामा लामो समयसम्म सक्रिय हुने अध्ययन बाहिरिएको थियो । 

ओमिक्रोन भने बाहिरी वतावरण वा हावामा ५ देखि २० मिनेटसम्ममा निष्क्रिय हुने नयाँ अध्ययनले देखाएको डा. शेर बहादुर पुनले बताएका छन् । पछिल्लो समयमा कोराना संक्रमणका विरामीहरुसँग प्रत्यक्ष जोडिएको डा. पुनले ओमिक्रोनको बारेमा धेरै तथ्य बाहिर नआईसकेको तर पहिलेको भेरियन्टहरु भन्दा कम खतरनाक रहेको बताएका हुन् । 

उनका अनुसार ओमिक्रोन बाहिरी वातावरणमा कम सक्रिय हुने र छिट्टो निष्क्रिय हुने कोरोनाको नयाँ भेरियन्ट हो । ब्रिष्टिल विश्वविद्यालयको अनुसन्धानअनुसार ओमिक्रोनले हावामा फैलिएको २० मिनेटसम्ममा व्यक्तिलाई सङ्क्रमित गर्ने क्षमता ९० प्रतिशत गुमाउँछ। सामान्यतया भाइरस हावामा फैलिएको पाँच मिनेटसम्म बढी सक्रिय हुने देखिन्छ, डा. पुनले भने ।

यसको निष्क्रयतासँग प्रत्यक्ष जोड दिने हो भने पनि यो एक संक्रमितबाट अर्को व्यक्तिमा सर्ने संभावना न्युन रहन्छ । साधारणतया पाँच दिनसम्म ओमिक्रोनको प्रभाव संक्रमितमा रहन्छ । त्यसबेलासम्म संक्रमितले आफुलाई हेरचाह गर्न सके यसको प्रभाव बढ्दैन । र ओमिक्रोन नियन्त्रणमा आउँछ । पाँचदिनको अवस्थामा ओमिक्रोनको सर्ने क्षमतामा पनि ह्रास आउँछ, डा. पुनले भने ।

अमेरिकाको सीडीसीले ओमिक्रोन सङ्क्रमित व्यक्तिले पाँच दिन आइसोलेशन बसे पुग्ने तथ्य बाहिर ल्याएको छ । त्यसपछि स्वास्थ्य मापदण्ड पुराएर हिँडडुल गर्न सकिने भनिएको छ ।

यस अनुसार पनि ओमिक्रोनको प्रभाव कोरोनाको पुरानो भेरियन्टहरु भन्दा कमजोर छ । त्यसैले आत्तिइ्हाल्नुपर्ने अवस्था छैन । बरु स्वास्थ्य मापदण्ड पालना गरि आफ्नो दैनिक कार्यमा सबै लाग्न सक्ने स्वास्थ्यविद्हरुको भनाई रहेको छ । 


© 2021 Quicknepal.com  |  All Rights Reserved.