काठमाडौं । पछिल्लो समय कोरोनाभाइरसले गर्दा सिर्जित अवस्थामा डिजिटल प्लेटफर्मको लोकप्रियता बढ्यो । सन् २०१९ मा डिसेम्बरको अन्तिममा चीनको वुहानमा पहिलो पटक भेटिएको कोरोनाभाइरस (कोभिड १९)का कारण विश्व लकडाउनको अवस्थामा पुग्यो । जसले गर्दा ओटीटी प्रयोगकर्ता बढे ।
कोरोनाभाइरसअघि ओटीटी प्लेटफर्मले विस्तारै दर्शकको साथ पाउन थालेका थिए । तर, उक्त समयमा हलमा रिलिज भएका र केही ओर्जिनल कन्टेन मात्र पाइन्थ्यो । किनकि दर्शकलाई ओटीटी प्लेटफर्मले खासै तानिसकेको थिएन । केही सिरिजले भने प्लेटफर्मलाई नै चर्चामा ल्याइरहेका थिए ।
सैफ अलि खान र नवाजुद्दीन सिद्दिकी अभिनित सेक्रेड गेम्सले नेटफ्लिक्स, अलि फजल र पंकज त्रिपाठी अभिनित मिर्जापुरले अमेजन प्राइम, कुनाल खेमु अभिनित अभयले जी फाइभ, स्वप्निल जोशी अभिनित समान्तरले एमएक्स प्लेयरलाई दर्शकमाझ अगाडि ल्यायो । केही समयअघि रिलिज भएका भारतीय सिरिजहरूको दोस्रो सिजनको प्रतीक्षा यतिबेला दर्शकलाई छ ।
स्पेसल ओपिएस
निरज पाण्डेको विशेषता नै इण्डो–पाक स्टोरी हो । स्पेसल ओप्स यस्तै कथामा आधारित सिरिज हो । भारतीय संसदमा भएको आक्रमणमा यो केन्द्रित छ । निरज पाण्डे र शिवम नैरले मिलेर यसको पहिलो सिजन निर्देशन गरेका हुन् । सन् २००१ मा भएको आक्रमणमा आधारित् सिरिजले फिल्मकै झल्को दिन्छ । आक्रमणमा आएका सबै आतंकवादी पक्राउ पर्छन् । तर, योजनाकार भने फरार हुन्छन् । उक्त योजनाकारलाई नै पक्राउ गर्ने मिसनमा सिरिज केन्द्रित छ ।
केके मेनन, मुज्जमिल इब्राहिम, करण टेकर, सना खान, विपुल गुप्ता, सैयामी खेर, मेहर बिज, दिव्या दत्त, विनायक पाठक लगायतको अभिनय रहेको सिरिजको नयाँ सिजन आउँदैछ । स्पेसल ओप्स वान प्वाइन्ट फाइभ नाम दिइएको सिरिजमा केके मेननको कथालाई देखाइनेछ । यसलाई स्पेसल ओप्सको ’स्पिन अफ’ पनि भनिएको छ । यो सिरिजलाई यसैवर्ष दर्शकसामु ल्याउने तयारीमा निर्माण पक्ष रहेको छ ।
असुर २
नामै नसुनेको ओटीटी प्लेटफर्म भुट सेलेक्टलाई दर्शकमाझ परिचित गरायो ’असुर’ ले । विज्ञान र मिथको सम्मिश्रण गरी बनाइएको क्राइम थ्रिलर विधाको यो वेब सिरिज सन् २०२० मा रिलिज हुँदा सामाजिक सञ्जालमा तरंग ल्याउन सफल भएको थियो । सिरिजले दर्शकलाई उत्साहित मात्र बनाएन, दोस्रो भागको प्रतिक्षामासमेत राख्यो । तर, दोस्रो भागकाबारेमा केही जानकारी आएको थिएन । यद्यपि, पछिल्लो समय यो सिरिज दोस्रो भागको लागि फ्लोरमा गएको छ । यसका मुख्य अभिनेता अरसद वारसीले ट्वीट गर्दै यसको जानकारी दिएका छन् ।
अरसदले यही सिरिजमार्फत ओटीटीमा डेब्यु गरेका थिए । अनुसन्धान अधिकृतको भूमिका निर्वाह गरेका अरसदलाई वरुण सोबतीले साथ दिएका थिए । सिरिजमा रिधी डोगरा, अनुप्रिया गोयन्का, शरिब हासमीसहित कलाकारले दोस्रो सिजन पनि निरन्तरता पाउनेछन् ।
बार्ड अफ ब्लड
इमरान हाश्मीको अभिनय रहेको इण्डो–पाक क्राइम थ्रिलर बार्ड अफ ब्लडको दोस्रो सिरिजनको प्रतिक्षा बढी भइसक्यो । इमरानसँगै शोभिता धुलिपाला र कीर्ति कुल्हाड़ीको अभिनय रहेको सिरिजको दोस्रो सिजनको पर्खाइमा दर्शक छन् । बिलाल सिद्दीकीद्वारा लिखित पुस्तक ’बार्ड अफ ब्लड’मा आधिरित् सिरिजको पहिलो सिजन रोमान्चक मोडमा सकिएको छ । यद्यपि, दोसो सिजनमा पुस्तकसँगै फिल्मीशैलीमा सिरिजलाई ल्याउने तयारीमा निर्माण पक्ष रहेको छ । यसलाई शाहरूख खानको कम्पनी रेड चिल्लीले निर्माण गरेको हो ।