जापानलाई खोपसम्बन्धी सूचना चुहाएको आरोप लागेका कर्मचारीमाथि अनुसन्धान भइरहेको छ : डब्लुएचओ

काठमाडौं । डब्लुएचओले जापानलाई खोपसम्बन्धी संवेदनशील तथ्याङ्क चुहाएको र कर्मचारीमाथि दुर्व्यवहार, रंगभेदी भाषा प्रयोग गरेको आरोप लागेका आफ्ना कर्मचारीमाथि अध्ययन भइरहेको बताएको छ ।

विश्व स्वास्थ्य संगठनका क्षेत्रीय निर्देशकमाथि जापानलाई खोपसम्बन्धी संवेदनशील तथ्याङ्क चुहाएको  र कर्मचारीलाई दुर्व्यवहार गरेको, रंगभेदी भाषा प्रयोग गरेको आरोप लागेपछि डब्लुएचओले यस्तो बताएको हो ।

पश्चिमी प्रशान्त क्षेत्रका लागि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का निर्देशक ताकेशी कसाईमाथि यस्तो आरोप लागेको छ ।

डब्ल्यूएचओले बिहीबार रोइटर्स समाचार माध्यमलाई उपलब्ध गराएको विज्ञप्तिमा ‘आरोपबारे जानकार भएको र यस सम्बन्धमा आवश्यक सबै कदम चालेर अघि बढ्ने’ उल्लेख छ । कसाईले कर्मचारीमाथि कडाइ गरेको तर रंगभेदी भाषा प्रयोग गरेको र जापानलाई खोपसम्बन्धी महत्त्वपूर्ण तथ्याङ्क चुहाएको आरोपको भने खण्डन गरेको पनि विज्ञप्तिमा भनिएको छ ।

बिहीबार नै एसोसिएटेड प्रेसमा कसाईविरुद्ध आरोप लागेको समाचार प्रकाशित भएको थियो ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.