काठमाडौं । राजनीतिक किचलोकै बिचमा प्रतिनिधि सभाको बैठक भोलि आइतवार १ बजेलाई बोलाइएको छ । एकातिर राजनीतिक अस्थिरता बढिरहेको छ । अर्कोतर्फ कोरोना संक्रमण फैलिरहेको छ । त्यसै बीचमा प्रतिनिधि सभाको बैठक बोलाइएको हो ।
स्थानीय तहको निर्वाचनको विषयलाई लिएर दलहरुबीच तिब्र आलोचना शुरु भएको छ । अर्कोतर्फ नेकपा एमालेले प्रतिनिधि सभामा गरेको अवरुद्ध हटाएको छैन । यहि बिचमा प्रतिनिधि सभाको बैठक कसरी अघि बढ्ला भने चासो सबैलाई भएको छ ।
पुस ७ पछि प्रतिनिधि सभाको बैठक बस्न सकेको छैन । माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनका कारण पुस १८ मा बैठक स्थगीत भएको थियो । यस्तै पुस २२ गते नेकपा एमालेको बैठकका कारण पनि बैठक बस्न सकेको थिएन । त्यसै गरी पुस २८ र माघ ३ का लागि बोलाइएको बैठक कोभिडका कारण बस्न सकेको थिएन ।
प्रतिनिधि सभाको बैठकको एजेण्डा समेत तय नभएको संसद सचिवालयले जनाएको छ । एजेण्डा तय गर्न भोलि नै विहान ११ बजे कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ ।