काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले स्थानीय तहको निर्वाचन समयमै नगराए जनपरिचालन गर्ने चेतावनी दिएका छन् ।
शनिबार प्रेस चौतारी स्थापना दिवस कार्यक्रमलाई राजधानीमा सम्बोधन गर्दै पोखरेलले ‘श्रीमानले बनाएको सरकार’ले स्थानीय तहको निर्वाचन समयमै नगराए जनपरिचालन गर्ने चेतावनी दिएका हुन् ।
‘यदि यो स्थानीय तहको निर्वाचन कानूनमा तोकिएको समय भित्रै भएन भने त्यसको विरुद्धमा देशव्यापीरुपमा जन परिचालन हुन्छ,’ उनले भने
पोखरेलले अहिलेको गठबन्धन विचार नमिल्नेहरुबीचको भएको समेत टिप्पणी गरे । ‘संघीयताको स सुन्न नचाहाने पनि त्यही छन्,’ उनको भनाइ छ, ‘संघीयता पुगेन भन्ने पनि त्यही छन् । प्रत्यक्ष निर्वाचित शासकीय स्वरुपको वकालत गर्नेहरु पनि त्यही छन् । परम्परागत संसदीय व्यवस्थाको वकालत गर्नेहरु पनि त्यही छन् ।’
गठबन्धन सरकारले कालापानी, लिपुलेक लगायतलाई हाम्रो हो भन्न नसेकर समस्याको रुपमा प्रस्तुत गरेको उनले आरोप लगाए ।
‘श्रीमानले बनाएको सरकार, श्रीमानले बनाएको प्रधानमन्त्रीले संविधानमा किटानी गरिएको व्यवस्थालाई उल्लघंन गर्ने धृष्टता गर्दै छ,’ पोखरेलले भने ।
फरक प्रसंगमा पोखरेलले सञ्चार माध्यम सेटिङ गराउनेका रुपमा चित्रित भइरहेको समेत दाबी गरे ।