काठमाडौं । पाँच दलीय गठबन्धनलाई चुनावसम्मै लैजानुपर्ने नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन् ।
कास्कीको पोखरामा आइतबार कांग्रेस गण्डकी प्रदेश कार्यालयको उद्घाटन गर्दै उनले गठबन्धनलाई चुनावसम्मै लैजानु पर्ने बताएका हुन् ।
उनले संविधानअनुसार कुनै पार्टीले एकल बहुमत जुटाउन नसक्ने भएकाले भविष्यमा सरकार बनाउने शक्तीहरुले चुनावमा गठबन्धन बनाउन आवश्यक रहेको जिकिर गरे।
पौडेलले गठबन्धन गर्न हुँदैन भन्नेहरुलाई प्रश्नसमेत गरे। ‘राष्ट्रियसभामा तीनजना थिए। अहिले गठबन्धन मिल्दा ६ जना सदस्य पाएको उपलब्धी हो कि होइन ?,’ उनले सोधे ।
नेता पौडेलले पार्टीभित्रको गुटबन्दीलाई केवल महाधिवेशनमा मन लागेकालाई जिताउन र मन नलगेकालाई हराउनमा मात्रै सीमित राख्नुपर्ने भन्दै गुटबन्दीलाई अन्तर्घातमा पुर्याउन नहुने स्पष्ट पारे।
इतिहासमा रछ्यानमा फ्याकिएका तत्वले संविधानलाई गिज्याउन थालेका बताउँदै उनले कांग्रेस र सत्ताधारी दलहरु यो संविधान र व्यवस्थाको पक्षमा चट्टान जस्तै उभिनुपर्ने उल्लेख गरे।
‘कांग्रेस कै कतिपय साथीहरु बीपीले राजासँग घाँटी जोडिएको छ भन्नुभएको थियो। अब त त्यसै गर्ने कि भन्नुहुन्छ,’ उनले भने, ‘त्यो होइन, वीपीले राजालाई लोकतन्त्र चाहिँदैन भने हामीलाई पनि राजा चाहिँदैन भन्नु भएको थियो।’
वरिष्ठ नेता पौडेलले सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अमेरिकी परियोजना एमसीसीका बारेमा भ्रम छरेको आरोप लगाए।