काठमाडौं । बैशाख ३१ गते घोषणा गरिएको स्थानीय तहको निर्वाचन र पछि हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका लागि ५० अर्ब बजेट माग भएको अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् ।
तीनै तहको निर्वाचनको कुल खर्च बापत ५० अर्ब माग भएको उनले खुलासा गरेका हुन् । निर्वाचन प्रक्रिया, तयारी र सुरक्षालगायतमा तीन पटक निर्वाचन गर्दा ५० अर्ब खर्च हुने माग निर्वाचन आयोग र सुरक्षा निकायबाट आएको अर्थमन्त्री शर्माले बताएका हुन् ।
सरकारले यो आर्थिक बर्षमा निर्वाचनका लागि भन्दै १० अर्ब मात्रै बजेट छुट्याइएको कारण थप बजेट व्यवस्थापन गर्न सरकारलाई चूनौती रहेको उनले बताएका छन् ।
बजेटको आकार ८६ अर्ब घटाइयो
सरकारले अर्धबार्षिक समीक्षा मार्फत चालु आर्थिक बर्षको बजेटको आकार घटाएको छ । निर्वाचनमा ५० अर्ब खर्च हुने प्रारम्भिक अनुमान आएपछि सरकारले त्यसलाई पनि व्यवस्थापन गर्ने गरि अर्धबार्षिक समीक्षाबाट बजेटको आकार ८६ अर्ब ५५ करोड घटाइएको हो ।
चालु आर्थिक वर्ष २०७८÷७९ को बजेटको आकार घटाएर १५ खर्ब ४६ अर्ब २८ करोड बनाएको छ । बजेट घटाएर सरकारले चालु आर्थिक बर्षको बजेट संशोधन गरेको हो ।
नेपालको बजेट प्रक्रियामा समस्या रहेको बताउँदै अर्थमन्त्री शर्माले अर्धबार्षिक समीक्षाबाट बजेटको आकार घटाइएको जानकारी दिए ।