चितवन राष्ट्रिय निकुञ्जमा आठ महिनामा ३० गैंडा मरे

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा यस आर्थिक वर्ष २०७८/७९ को हालसम्म ३० वटा दुर्लभ एकसिंगे गैंडा मरेका छन् । यस आवको आठ महिना पनि पुग्न नपाउँदै चोरी सिकारीले मारिएका दुईसहित ३० वटा गैंडा मरेको निकुञ्जले जनाएको छ ।

निकुञ्ज र मध्यवर्ती वन क्षेत्रमा ती गैंडा मरेका हुन् । गत आव २०७७/७८ मा ३३ वटा गैंडा मरेका थिए । त्यसअघि आव २०७६/७७ मा २६ गैंडा मरेका थिए । यस आवको माघ र फागुनमा मात्रै ११ वटा गैंडा मरेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

उनकाअनुसार खोलाले बगाएर र दलदलमा भाँसिएर आठ, आपसमा जुधेर आठ, प्राकृतिक कारणले ६, बाघको आक्रमणबाट पाँच, चोरी सिकारीबाट दुई र मानवीय लापरबाहीले एउटा गैंडा मरेका हुन् ।

साउन ११ गते लिङ्ग पहिचान हुन नसकेको एउटा गैंडा माडीको घाँघर क्षेत्रमा मृत अवस्थामा फेला परेको थियो । गैंडाको खाग काटिएको थियो । उक्त गैंडा चोरी सिकारीले मारेको तिवारी बताउँछन् ।

त्यसैगरी, असोज ११ गते धोबाहा क्षेत्रमा करिब २८ वर्षको पोथी गैंडा मृत फेला पर्‍यो । त्यसको पनि खाग चोरी गरिएको थियो । दुई वटा गैंडाको चोरी सिकारीमा संलग्न पाँच प्रतिवादीमध्ये दुई जनालाई पक्राउ गरिएको र अझै तीन जना फरार रहेको उनले बताए ।

माघ र फागुनबाट बाघको आक्रमणबाट चार गैंडाको मृत्यु भएको हो । बाघमारा पोस्टको काभ्रे ताल र खेरियामुहान क्षेत्रमा लिङ्ग पहिचान नभएका दुई गैंडा बाघको आक्रमणबाट मरे । सौराहा र सिसुवार मध्यवर्ती क्षेत्रमा करिब चाररचार महिनाका दुई पोथी गैंडा मरेका हुन् ।

त्यसअघि मंसिर ४ गते घटगाई क्षेत्रमा बाघको आक्रमणबाट डेढ वर्षको भाले गैंडा मरेको थियो । आपसमा जुधेर आठ गैंडाको मृत्यु भएको अनुमान गरिएको तिवारी बताउँछन् ।

सौराहा क्षेत्रको ठूलो घोल क्षेत्रमा साउन ७ गते आपसमा जुधेर करिब २२ वर्षको भाले गैंडा मर्‍यो । कात्तिक ६ गते नवलपुरको भुताहा मध्यवर्ती वनमा र कात्तिक ११ गते सौराहा क्षेत्रको २ नं मचाननेर एकरएक गैंडाको मृत्यु भएको थियो । त्यसपछि मंसिर ५ गते सौराहा क्षेत्रकै डुंगाघाटमा आपसमा जुधेर करिब २२ वर्षको पोथी गैंडा मर्‍यो ।

काभ्रे ताल क्षेत्रमा माघ १ गते भालेको आक्रमणबाट दुई वर्षको पोथी गैंडा मरेको थियो । माघ १२ गते सुरुङ खोला क्षेत्रमा एउटा भाले र फागुन ४ गते सिसुवार मध्यवर्ती क्षेत्रमा एउटा पोथी गैंडा आपसमा जुधेर मरेको उनले बताए ।

फागुन १४ गते कुजौली पोस्ट नजिकै शुक्ला घोल क्षेत्रमा करिब २० वर्षको एउटा भाले गैंडा जुधेर मरेको थियो । पछिल्लो पटक फागुन १९ गते नवलपुरको कृष्णसार मध्यवर्ती वन क्षेत्रमा करिब २८ वर्षको पोथी गैंडा प्राकृतिक कारणले मरेको तिवारीले जानकारी दिए ।

चालु आवमा प्राकृतिक कारणले मात्रै १४ वटा गैंडा मरेको उनी बताउँछन् । ‘सिमसार क्षेत्र र दलदलमा भाँसिएर मर्ने गैंडाको संख्या पनि बढी छ’, उनी भन्छन्, ‘बाढीले बगाएर पनि बच्चा गैंडा मर्ने गर्छन् । चालु आवमा बाढीले बगाएर र बुढो भएर चार गैंडा मरेका छन् ।’

मानवीय लापरबाहीका कारण माघ ९ गते खाडलमा परेर करिब १२ वर्षको भाले गैंडा मरेको थियो । पूर्वपश्चिम राजमार्गअन्तर्गतको वनदेवी वरण्डाभार मध्यवर्ती वन क्षेत्रको टिकौली जंगलनजिक सडक नालीको खाल्डोमा परेर गैंडा मरेको हो ।

उक्त गैंडा मरेको विषयमा छानबिन गर्नका लागि वन मन्त्रालयले समिति नै बनाएको थियो । समितिले गैंडा मर्नुमा निकुञ्ज प्रशासन, सडक डिभिजन र निर्माण व्यवसायी सबैको गल्ती रहेको औँल्याएको छ । घटनाको छुट्टै अनुसन्धानका लागि निकुञ्जले राजु घिमिरेलाई अनुसन्धान अधिकृत तोकेको छ ।  

गैंडाको संरक्षणको लागि वासस्थान व्यवस्थापन नै प्रमुख चुनौतीका रूपमा रहेको तिवारी बताउँछन् । ‘गैंडा बाहिर गाउँवस्तीमा निस्कँदा गैंडा र मानवबीच द्वन्द्व सिर्जना हुने अवस्था छ । त्यसकारण गैंडालाई वन जंगलमै कसरी सिमित गर्ने भनेर अलिकति ध्यान दिन आवश्यक देखिन्छ’, उनले भने ।

गत वर्ष चैतमा सार्वजनिक विवरणअनुसार नेपालमा ७५२ वटा गैडा छन् । तीमध्ये चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६९४ गैंडा छन् । गैंडाको संख्या बढ्दै जाँदा एक ठाउँमा जम्मा भएर आपसमा जुधेर गैडा मर्ने गरेका निकुञ्ज बताउँछ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.