कोरोना संक्रमणको दर घटेपछि लकडाउन खुकुलो गर्न सिफारिस
स्वास्थ्यको मापदण्ड पालना भए जटिलता हुने अवस्था छैन

इलाम । इलाममा केही समययता कोरोना संक्रमणको दर घट्दै गएको छ । इलामका ८१ वटा वडामध्ये १४ वटा वडामा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या शून्य भएको छ ।

इलाम नगरपालिकाका दुईवटा वडा, सूर्योदय नगरपालिकाको एउटा वडा, देउमाईको एउटा वडामा कोभिडका सक्रिय संक्रमित छैनन् । त्यस्तै, सन्दकपुर गाउँपालिकाका दुईवटा, माईजोगमाईको एउटा, रोङ गाउँपालिकाका दुईवटा, फाकफोकथुका दुईवटा र माङसेबुङ गाउँपालिकाका पाँचवटा वडामा कोरोनाका संक्रिय संक्रमितको संख्या शून्य रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

अहिलेसम्मको सक्रिय संक्रमितको आधारमा इलामको माङसेबुङ गाउँपालिकाबाहेक अन्य सबै पालिका उच्चजोखिममा नै छन् । ती पालिकाहरूमा मिश्रित तरिकाको लकडाउन गर्नुपर्ने अवस्था रहेको प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर खड्का बताउँछन् ।

‘माङसेबुङको अहिलेको अवस्थालाई कायम राख्दै थपमा संक्रमण फैलिनबाट रोक्न सकियो भने माङसेबुङ जोखिमरहित नै छ’, प्रजिअ खड्काले भने, ‘स्वास्थ्यको मापदण्ड पालना भए जटिलता हुने अवस्था छैन ।’ माङसेबुङमा अहिले जम्मा दुईवटा वडामा ६ जना मात्र सक्रिय संक्रमित छन् भने पाँचवटा वडामा सक्रिय संक्रमित छैनन् ।

इलामका अन्य नौवटा स्थानीय तह भने कोरोनाको उच्चजोखिममै छन् । ८१ मध्ये २१ वटा वडामा अहिले पनि १० जनाभन्दा बढी सक्रिय संक्रमित छन् । १० जनामन्दा बढी सक्रिय संक्रमित रहेका वडालाई उच्चजोखिम भएको वडाका रूपमा लिइने गरेको छ ।

सोमबार इलाममा बसेको जिल्ला कोभिड व्यवस्थापन केन्द्र (डीसीएमसी) को बैठकले जनजीवनलाई सहज बनाउनुपर्ने भन्दै निषेधाज्ञालाई खुकुलो पार्दै जानुपर्ने सिफारिस गरेको छ । सरकारी र सार्वजनिक क्षेत्रको सेवालाई खुकुलो पार्नुपर्ने, यातायत तथा अन्य व्यवसायलाई समेत निश्चित समयावधि तोकेर संचालन गर्ने व्यवस्था मिलाउनुपर्ने डीसीएमसीले सिफारिस गरेको हो ।

मानिसहरूको भिडभाड हुने र अन्यावश्यक सेवा क्षेत्रभन्दा बाहिरको क्षेत्रलाई भने तत्काल खुला गर्न नहुने सुझाव छ । प्रमुख जिल्ला अधिकारीले यसअघि जारी गरेको निषेधाज्ञाको समयसीमा मंगलबार सकिँदै छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.