मिस नेपाल युएस–२०२१ का १० प्रतियोगी

काठमाडौं ।    मिस नेपाल युएस–२०२१ का लागि १० जना सुन्दरीहरुबीच प्रतिस्पर्धा हुने भएको छ । सेप्टेम्बरको पहिलो सातासम्म प्राप्त आवेदनका आधारमा यी प्रतियोगी छानिएको आयोजक संस्थाले जनाएको छ ।

प्रतियोगितामा अपेक्षा सिंह गुरुङ परियार, कला न्यौपाने, प्रतिक्षा शुक्ला, प्रतिसा प्रधान, प्रितिजा जैशी, रीया श्रेष्ठ, सुनिता अधिकारी, सन्यामिता श्रेष्ठ, सोनिश्या थापा र एलिसा लिम्बु रहेका छन् । २५ सेप्टेम्बरका दिन न्यूयोर्कको क्वीन्स थियटरमा आयोजना हुने एक समारोहमा ‘मिस नेपाल युएस–२०२१’ को घोषणा हुनेछ ।

महिला शिक्षा र सशक्तिकरणका क्षेत्रमा उल्लेख्य योगदान पुऱ्याउँदै आएको मिस नेपाल युएस विसुद्ध सौन्दर्य प्रतियोगिता नभएर एउटा सामाजिक अभियानको रुपमा समेत चिनिएको छ । आफ्नो समुदाय र संस्कृतिका पक्षमा वकालत गर्न सक्ने साथै नेतृत्व लिन सक्ने युवाहरुको उत्पादनमा यस कार्यक्रमले विगत १० वर्षदेखि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको कार्यक्रमका संस्थापक तथा अध्यक्ष अमित शाह बताउँछन् ।

इप्लानेट नेपालको सहकार्यमा सन् २०११ देखि न्यूयोर्कबाट प्रारम्भ भएको प्रतियोगितामा सुजिता बस्नेतले पहिलो मिस नेपाल युएसको ताज लगाउन सफल भएकी थिइन् । मिस नेपाल युएसले अमेरिकी सरकारबाट ट्रेडमार्क समेत प्राप्त गरेको छ ।

प्रतियोगिता प्रारम्भ भएको झण्डै १० वर्षपछि मिस नेपाल युएसले अमेरिकी सरकारको औपचारिक ट्रेडमार्क पाउन सफल भएको हो । मिस नेपाल युएसले सौन्दर्य प्रतियोगिताको प्रकृतिमा मनोरञ्जनमुलक श्रेणी ४१ मा ट्रेडमार्क पाएको हो ।

पहिलोपटक सन् २०११ को जुन महिनामा प्रयोग भएको र अगस्तमा व्यवसायिक रुपमा प्रयोग भएको इतिहाससहित ट्रेडमार्क प्रमाणपत्र प्रदान गरिएको हो
। प्रमाणपत्र नम्बर ६४५११७६ रहेको छ ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.