काठमाडौं । कुनै जमानाको चर्चित फिल्म ‘अग्निपथ’ मा काम गरेका अभिनेता रेशम अरोडा अहिले आर्थिक समस्याबाट गुज्रिरहेका छन् । ७१ वर्षका यी कलाकारले अहिले कुनै काम पाइरहेका छैनन्, काम खोज्नका लागि आफू दैनिक रूपमा धाइरहेको पनि उनले बताएका छन् ।
यी कलाकारले एक अन्तर्वार्तामा आफ्नो आर्थिक अवस्थाबारे बोलेका हुन् । अरोडाका अनुसार गत वर्ष कोरोनाका कारण लकडाउन भएयता नै उनले कुनै काम पाइरहेका छैनन् ।
तर, अहिले भने आर्थिक समस्या विकराल भएकाले उनलाई कामको तत्कालै खाँचो छ । ‘केही वर्ष पहिले रेलबाट झरेँ र त्यसको केहीपछि अश्विनी धीरको शोको सेटमा एउटा अचम्मको किराले मलाई टोक्यो । यस कारण, केही समय म हिँडडुल गर्न नसक्ने भएँ । जब मेरी श्रीमतीको आँखा कमजोर हुन थाल्यो, तब मेरो कठिन समय सुरु भयो, मलाई कामको निकै आवश्यकता छ,’ अरोडाले भने ।