लक्ष्मी माविमा नयाँ प्रधानाध्यापक नियुक्ति गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश 

खोटाङ । उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुंगाले खोटाङको हलेसी तुवाचुङ नगरपालिका-४ बडहरेस्थित लक्ष्मी माविमा निमित्त प्रधानाध्यापक नियुक्ति गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

वडा कार्यालय बडहरेको सिफारिसमा प्रधानाध्यापक नयनकुमार राईलाई निलम्बन गर्दै केदारप्रसाद शाहलाई निमित्त प्रधानाध्यापक तोक्ने निर्णय तत्काल कार्यान्वयन नगर्न उच्च अदालतले हलेसी तुवाचुङ नगरपालिकाको नाममा अन्तरिम आदेश जारी गरेको हो । 

 न्यायाधीश ठाकुरप्रसाद शर्मा र श्यामजी प्रधानको संयुक्त इजलासले निवेदक राईलाई अपूरणीय क्षति हुनसक्ने तथा संविधान सन्तुलनको दृष्टिबाट रिट निवेदनको अन्तिम किनारा नलागेसम्मका लागि उल्लेखित निर्णय कार्यान्वयन नगर्नरनगराउन अन्तरिम आदेश जारी गरेको हो । 

वडा कार्यालयको सिफारिसमा नगरपालिकाले गत १६ फागुनमा राईलाई निलम्बन गर्ने र सो ठाउँमा शाहलाई नियुक्ति निर्णय गरेको थियो । सो निर्णयसहितको पत्र २० फागुनमा विद्यालयमा पुगेपछि शाह २१ फागुनमा निमित्त प्रधानाध्यापक बनाइएका थिए । सोही निर्णयविरुद्ध राईले अदालतमा उत्प्रेषण मिश्रित, परमादेश निषेधाज्ञा मुद्दा हालेका थिए ।

अदालतको अन्तरिम आदेश अनुसार विद्यालयमा पुःन प्रअको जिम्मेवारी फर्केर काम गर्ने वातावरण बनेको राईले बताए । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.