राजबहादुर ‘सिल्ली फो’ निर्माणमा जुटे

काठमाडौं । निर्देशक राजबहादुर सानेले नयाँ फिल्म ‘सिल्ली फो’ निर्माण गर्ने भएका छन् । यसअघि लाटी, गुडफ्रेन्ड, बृन्दाबन, वीरंगना, मन्द मन्दलगायतका फिल्म निर्माण गरेका सानेको ‘सिल्ली फो’ को सुटिङ बिहीबारबाट नेपालगन्जमा सुरु हुने जानकारी प्राप्त भएको छ ।

‘सुटिङका लागि हामीहरू नेपालगंज पुगीसकेका छौ,’ निर्देशक सानेले भने, ‘सम्पूर्ण तयारी पूरा भएको छ । बिहीबारदेखि सुटिङ सुरु हुन्छ ।’ नेपालगन्ज, कोहलपुर, बर्दिया आसपासमा खिचिने फिल्ममा राजाराम पौडेल, रवीन्द्र झा, दिनेश रेग्मी, कमल वली, अनिता श्रेष्ठ, रमेश बजगाई, सरस्वती थापामगर, पूर्णचन्द्र उपाध्याय, अनिता गिरी, कालु गिरी, भूगोल कार्कीलगायतले अभिनय गर्दैछन् । फिल्मकी प्रमुख अभिनेत्री को हुन् भन्ने चाहिँ गोप्य राखिएको छ ।

निर्देशक सानेकै लेखन रहेको फिल्म वीरेन्द्र परियारले खिच्दै छन् । रुद्राक्ष फिल्म प्रालिको ब्यानरमा निर्माण हुने फिल्म कमेडी नजराको रहेको बताइन्छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.