सत्तारुढ गठबन्धनको बैठक ५ बजे, को–को हुदैछन् मन्त्री ?

काठमाडौं । सरकार विस्तारलाई लिएर सत्ता गठबन्धन र प्रधानमन्त्री शेर बहादुर देउवाको आलोचना तिब्र भइरहेको बेला गठबन्धनले भने दैनिक जसो बैठक आयोजना गरिरहेका छन् ।

मंगलवार मात्रै गठबन्धनको बैठकले डा. नारायण खड्कालाई परराष्ट्र मन्त्रीमा सिफारिस गर्ने निर्णय गरेको थियो । सोही बमोजिम डा. खड्काले आजै शपथ लिएर पदभार सम्हालेका छन् । उनी बेलुका अमेरिका प्रस्थान गर्नेछन् ।

यस्तै आज साँझ ५ बजे पनि सत्ता गठबन्धनको बैठक बोलाइएको छ । सरकार विस्तारको विषयलाई केन्द्रित बनाएर गठबन्धनले बैठक बोलाइएको हो । प्रधानमन्त्री देउवा एकै पटक मन्त्री परिषद् विस्तार गर्ने मनशायमा बसिरहेका बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले माओवादीकै मात्र भएपनि मन्त्रीहरु थप्नुपर्ने बताएपछि साँझ ५ बजे बैठक बोलाइएको हो ।

प्रचण्ड आफ्नो पार्टीको तर्फबाट मन्त्री बन्ने नाम फाईनल गर्न पेरिस डाँडाँको बैठकमा व्यस्त छन् । यस्तै नेकपा (एकिकृत समाजवादी)ले पनि मन्त्री हुनेहरुको नाम टुङ्गो लगाईसकेको बताइएको छ । तर सवोच्च अदालतमा विचराधिन रहेको मुद्धा नटुंगिएसम्म मन्त्रीपरिषद्मा नाम नदिने पक्षमा नेता माधव कुमार नेपाल रहेका छन् ।

यस्तै दल विभाजन सम्बन्धि अध्यादेश निश्क्रिय नबनाएसम्म जसपाले पनि मन्त्रीमा नाम टुंगो नलगाउने जनाएको छ । संभवत ५ बजे बस्ने सत्ता गठबन्धनको बैठकले माओवादी केन्द्रबाट मन्त्री हुनेहरुको नाम सिफरिस गरिने छ ।

माओवादीबाट नारायणकाजी श्रेष्ठ, हरिबोल गजुरेल, देवेन्द्र पौडेल, देवप्रसाद गुरुङल, मातृका यादव, अमनलाल मोदी, शिवकुमार मण्डल, जयपुरी घर्ती, अन्जना विशंखे र शशी श्रेष्ठ, सुदन किराती, सन्तकुमार थारु र महेश्वर गहतराजको नाम मन्त्री हुने चर्चामा छ । यी नामहरुबाट पाँच जनाको नाम आजकै बैठकमा मन्त्रीका लागि सिफरिस हुनसक्ने बताइएको छ ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.