विद्यालय डूवानमा परेपछि टेन्टमै पठन पाठन

मनाङ । मनाङको तालगाउँमा रहेको भानु माध्यामिक विद्यालय डूबानमा परेपछि टेन्टमै पठनपाठन सुरु गरिएको छ । गत असार १ गते आएको बाढीका कारण विद्यालयको भौतिक संरचना डूबेपछि बाढीपिडित बालबालिकालाई पठनपाठनको व्यवस्था गरिएको हो ।

जनप्रतिनिधिको सक्रियतामा बाढीपिडित बालबालिकालाई टेन्टमै पढ्ने व्यवस्था मिलाइएको नासो गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले बताए ।

उनका अनुसार बालबालिकाको भविष्य बनाउने जिम्मेवारी भएकाले टेण्टमा नै भए पनि पठनपाठनको व्यवस्था गरिएको छ । उनले भने, ‘प्रकृतिले बालबालिकाको भविष्यमा नै पुर्याएको क्षतिको पूर्ति गर्नुपर्ने जिम्मेवारी हाम्रो हो, भविष्य निर्माणका लागि टेण्टमा नै पढ्ने व्यवस्था गरिएको छ, पठनपाठन सुरु पनि भइसकेको छ’

कोभिड–१९ बाट केही हदसम्म तङ्ग्रिएको अवस्थामा पुनः बाढीले थलिएका बेला गाउँपालिकाका जनप्रतिनिधिले सहयोग पुर्याएको भानु माविका प्रधानाध्यापक श्याम पन्थीले बताए ।

उनका अनुसार जनप्रतिनिधिकै सहयोगले यहाँका बालबालिकाले पठनपाठन गर्ने भएका छन् । पन्थीका अनुसार, ‘उहाँहरुको सहयोगले अस्थायी तवरबाट टेण्ट टाँगी बालबालिकाको पढ्न पाउने अधिकारलाई सुनिश्चतता गरिदिनु भएको छ’ ।
बालबालिकाको पठनपाठनका लागि ताल गुम्बाको प्राङ्गणमा व्यवस्थापन गरिएको छ । बाढीले बालबालिकाको मनोवैज्ञानिक असर पनि पारेको छ । यससँगै बाढीबाट बालबालिकामा पारेको मनोवैज्ञानिक असरलाई समेत निराकरण गरी उनीहरुको उज्ज्वल भविष्य निर्माणमा उनीहरुको महत्वपूर्ण भूमिका र योगदानप्रति तालगाउँवासी खुशी भएका छन् ।

नासों–१ ताल गाउँस्थित भानु माविमा हालसम्म पनि मस्र्याङ्दी नदी बगिरहेको छ । तीन मावि र एक आधारभूत विद्यालयमा बाढीका कारण क्षति पुगेको छ । यी विद्यालयमा पठनपाठन गराउन सक्ने अवस्था नरहेको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख नारायणप्रसाद रेग्मीले बताए ।

‘जोखिमको अवस्थामा तालगाउँका बालाबालिकाका लागि पठनपाठन सञ्चालन गर्न लागिएको छ, टेण्टमा नै तयारी गरिएको छ, बालबालिकाकाको नैसर्गिक अधिकारबाट बञ्चित गराउनु हुँदैन भनेर गाउँपालिकाको सहयोगमा तयारी गरिएको छ’, रेग्मीले भने । बाढी पहिरोपछि मनाङमा कोभिड न्यूनीकरण भएसँगै विद्यालय खुला गरिएको उनले बताए ।

जिल्लाका चार माविमा मनाङ ङिस्याङ गाउँपालिका–६ मनाङ गाउँस्थित अन्नपूर्ण माविमात्रै बाढीबाट जोगिएको रेग्मीले जानकारी दिए ।

सदरमुकामस्थित चामे गाउँपालिका–४ स्थित नमूना विद्यालय लोकप्रिय माध्यमिकमा आउजाउका लागि नेपाली सेनाको श्रमदानमा फड्के र तारबार गरिदिएपछि पठनपाठन सञ्चालन भइसकेको छ । छात्राबाससहितको विद्यालयको एक चौथाइ भाग मात्रै बाँकी रहे पनि पठनपाठन भइरहेको छ ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.