नुवाकोट । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा ककनी गाउँपालिकामा नेकपा एमाले र नेपाली कांग्रेसलाई हराउँदै माओवादी केन्द्रले जित हासिल गर्यो । देशभर पहिलो शक्ति बनेको एमालेलाई ककनीमा तेश्रो स्थानमा खुम्चाउन सफल भएको माओवादी केन्द्रबाट निर्वाचित अध्यक्ष मानबहादुर तामाङले चुनावताका जनताका बीचमा प्रतिवद्धता गरेका कामहरु भने एउटा पनि पुरा गर्न नसकेको मतदाताको गुनासो छन् ।
ककनीको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा माओवादीका उम्मेदवारले सफलता पाए । गाउँ सभा कार्यपालिकामा पनि माओवादी केन्द्रले बहुमत प्राप्त गर्यो । ककनीको अध्यक्षमा नेपाली कांग्रेसका दिपेश तामाङ र एमालेका जीतबहादुर बलामी (हाल समाजवादी) लाई हराउँदै माओवादीका तामाङले चुनाव त जिते, तर पाँच बर्षमा स्थानीयको मन भने जित्न सकेन ।
बरु अध्यक्ष तामाङ विभिन्न विवादमा तानिए । कहिले चामल लुकाएर बेचेको त कहिले स्थानीयको जग्गा हडपेको विवादमा मुछिए । राष्ट्रिय मिडियामा समेत उनको तिब्र आलोचना भयो । चामल लुकाएर बेचेको भन्दै अध्यक्ष तामाङविरुद्ध लगातार समाचार बाहिरियो । उनले त्यसको खण्डन र प्रतिकार समेत गर्न सकेनन् ।
पछि उनी वडावासीलाई कार्यलयमै कुटेको आरोपमा थप विवादित भने । सामाजिक सञ्जालमा नराम्रो कमेन्ट गरेको भन्दै तामाङले स्थानीय युवा शंकर लामिछानेलाई कार्यालयमा थुनेर हात हालेपछि विवाद भएको थियो । सोही विषयमा नेकपा एमालेले ध्यानाकर्षण गरेपछि उनले माफी समेत मागेका थिए ।
आफ्नो कार्यकाल सकिँदै गर्दा तामाङले पालिकाका योजनाहरु कार्यकतामुखी बनाएको भन्दै उनी माथी अर्को आरोप लागेको छ । यी बाहेक पनि तामाङले आफ्नो कार्यकालमा दिगो रुपमा देखिने गरि कुनै विकास नगरेको र नीति निर्माण गर्न नसकेको आरोपहरु स्थानीयले लगाएका छन् ।
पर्यटकीय स्थल ककनीलाई पाँच बर्षभित्र समृद्ध बनाउने प्रतिवद्धता जनाएका तामाङले पालिका भित्र एक मिटर पनि बाटो पिच गर्न नसकेको भन्दै स्थानीय समुदाय आक्रोसित बनेका छन् । पाँच बर्ष भित्र पालिकाको भवन नबनाई आफ्नै घरमा कार्यलय संचालन गरेको भन्दै स्थानीयले उनको विरोध पनि गर्दै आएका छन् ।
आफ्नो कार्यकाल सकिँदै गर्दा पालिका भवनको शिलान्यास गरेका तामाङले भवन त बनाउन सकेनन्, उल्टै ककनी स्वास्थ्य चौकीको भवनलाई क्षती हुने गरि विनाश गरेको स्थानीयको आरोप छ । शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र विकास निर्माणका कामहरुमा कुनै प्रगति नभएको गुनासो समेत स्थानीयको छ ।
यता ककनी गाउँपालिको सिस्डोल–बञ्चरे क्षेत्रमा काठमाडौं महानगरपालिकाले फोहोर व्यवस्थापन गर्दै आएको छ । सोही बापत स्थानीय प्रभावित क्षेत्रको लागि महानगरले शिक्षा मन्त्रालयसँग समन्वयन गरि करारमा शिक्षक उपलब्ध गराउँदै आएको छ । प्रभावित क्षेत्रका विद्यालयहरुलाई दिएको शिक्षक समेत अध्यक्ष तामाङले अन्यन्त्रै लगेर हालेको वडा नं. १ कागतीगाउँका अध्यक्ष चन्द्र बहादुर बलामीले बताए ।
यस्तै स्थानीय प्रभावित क्षेत्रको लागि यसै आर्थिक बर्षदेखि महानगरले एउटा वडालाई एक करोड दरले उपलब्ध गराएको छ । ककनी गाउँपालिकाको वडा नं. १, २ र ३ प्रभावित वडा हो । सो वडामा विकास निर्माणको काम गर्न छुट्टाएको रकमबाट ३० प्रतिशत रकम कार्यपालिकाले निर्णय गर्दै अध्यक्ष तामाङले अन्यन्त्रै प्रयोग गरेको श्रीराम दुंगानाले बताए ।
ककनी गाउँपालिकाको बेरुजु मात्रै ७ करोड बढि छ । महालेखापरिक्षकको कार्यालयले गत भदौंसम्म गरेको लेखापरिक्षणमा ककनी गाउँपालिकाको एक अर्ब दुई करोड ४२ लाख ७६ हजार रुपैयाँमा ४ करोड ९५ लाख २० हजार रुपैयाँ बेरुजु रहेको थियो ।
प्रचण्डका घरपेटी शारदा अधिकारीले ठेक्का पाएको पासाङल्यामु राजमार्ग बर्षौंसम्म नबन्दा पनि त्यसमा पहल गर्न समेत पालिका चुकेको स्थानीयको आरोप छ ।