विशेषज्ञ चिकित्सक नहुँदा मुगुमा उपचारमा समस्या

मुगु ।  मुगुको एक मात्र १५ शैय्या अस्पतालमा विशेषज्ञ चिकित्सक नहुँदा उपचारमा समस्या भएको छ । विगत चार महिनादेखि एमडीजीपी विशेषज्ञ चिकित्सक नहुँदा सामान्यदेखि जटिल खालका बिरामीको उपचारमा समस्या भएको हो । 

२०६३ सालमा स्थापना भएको अस्पताल विषेशज्ञ चिकित्सक छैनन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाबाट काजमा आएका विशेषज्ञ चिकित्सक सिद्धार्थ ध्वज खाती चार महिनाअघि पुनः जुम्ला फर्केपछि जिल्ला अस्पताल विशेषज्ञ चिकित्सकविहीन बन्न पुगेको स्वास्थ्य सेवा कार्यालय मुगुले जनाएको छ । 

विशेषज्ञ चिकित्सक नुहुँदा शल्यक्रिया, हाईड्रोसिल, हर्निया, एपेन्डिसाइटिसजस्ता रोगबाट पीडित बिरामीहरुको उपचार गर्न समस्या भएको स्वास्थ्य सेवा कार्यालय मुगुका निमित्त कार्यालय प्रमुख उमेश गौतमले बताए । 

उनका अनुसार जिल्ला अस्पताल मुगुको लागि सर्जन, स्त्री रोग र बालरोग गरी तीनजनाको विशेषज्ञ चिकित्सकको दरबन्दी खाली छ । अस्पतालमा चार जना मेडिकल अधिकृत रहेकामा निर्मल नगरकोटी, ज्ञानेश्वर श्रेष्ठ अध्ययन विदामा रहेका प्रमुख गौतमले जानकारी दिए ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.