नेपालगञ्ज उपमहानगरका तीनजनाको उम्मेदवारी रद्द

नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा मनोनयन दर्ता गराएका तीनजनाको उम्मेदवारी रद्द भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगञ्जका सहायक निर्वाचन अधिकृत नगेन्द्र चौलागाईंका अनुसार नेपालगञ्ज उपमहानगरको वडा नं. १७ मा वडाध्यक्ष पदका उम्मेदवार अजय कुमार पाठक, उपमहानगरपालिका वडा नं. ३ दलित सदस्य पदका उम्मेदवार निर्मलादेवी बंशाकार र वडा नं‍. ७ का सञ्जु बंशाकारको उम्मेदवारी रद्द भएको हो ।

पाठक २०७४ सालको निर्वाचनमा सोही वडाबाट माओवादी केन्द्रबाट वडा अध्यक्षमा विजयी भएका थिए । मनोनयन हुनुअघि मात्रै माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका थिए ।

सहायक निर्वाचन अधिकृत चौलागाईंका अनुसार एमालेको तर्फबाट मनोनयन गरेका पाठकलाई बैंकले कालो सूचीमा राखेका कारण उम्मेदवारी रद्द भएको हाे ।

यसैगरी उपमहानगरपालिका वाड नं ३ र ७ का दलित सदस्य पदका उम्मेदवार निर्मलादेवी र सञ्जुको उम्मेदवारी दलित भन्ने निस्सा नभएको कारण रद्द भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.