काठमाडौं ।अवैधरूपमा भारतबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको आशंकामा पर्सा प्रहरीले नियन्त्रणमा लिएका खसीहरू भन्सार कार्यालयले बुझ्न नमानेपछि सम्बन्धित व्यक्तिलाई फिर्ता पठाइएको छ ।
बुधबार राति १० बजेको समयमा वीरगञ्ज महानगरपालिका–१४ गण्डकचोकमा बा।१४ च १९९० नम्बरको बोलेरो पिकअपमा लोड गरी काठमाण्डौंतर्फ ल्याउँदै गरेको ५९ वटा खसी प्रहरीले नियन्त्रणमा लिएको हो ।कागजातहरू जाँच गर्दा चौपायाको भेटेरिनरी प्रमाणपत्र बारा जिल्लाबाट लिएको, फर्मको नाममा बिलबिजक हुनुपर्नेमा व्यक्तिको नाउँमा बिल रहेको र खरीद बिल पनि ४ असोजको रहेकोले नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ ।
चालक सिन्धुली फिक्कल नगरपालिका–१ का २२ वर्षीय पूर्णबहादुर सुनुवारलाई खसी र बोलेरोसहित आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालय तथा राजस्व अनुसन्धान कार्यालय पथलैया, बारा पठाउँदा दुवै कार्यालयले बुझ्न नमानेपछि सम्बन्धित धनीलाई जिम्मा लगाएको प्रहरीले जनाएको छ ।