काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसाल र विश्व बैंक दक्षिण एशिया उपाध्यक्ष हार्टविग सेफरसको प्रतिनिधिमण्डल बीच शिष्टाचार भेटवार्ता भएको छ । शुक्रबार मन्त्रालयमा भएको दुई पक्षीय भेटवार्तामा विश्व बैंकको लगानी रहेका विविध आयोजनाका विषयमा छलफल भएको हो ।
सो भेटमा मन्त्री भुसालले नेपालको विकासमा बैंकले पुर्याउँदै आएको योगदानको कदर गरेकी छन् । उनले आगामी दिनमा लगानी थप विस्तार हुने र समयमै परियोजना सम्पन्न भई जनताले उपभोग गर्ने अवस्थामा पुग्ने विश्वास व्यक्त गरिन् ।
भेटमा विश्व बैंकका उपाध्यक्ष सेफरले नेपालको आर्थिक विकासमा विश्व बैंकले पुर्याउँदै आएको सहयोगका विषयमा जिज्ञासा राखेका थिए। नेपालको सडक पूर्वाधार, कृषि विकास, शैक्षिक उन्नति गरिबी निवारणलगायत क्षेत्रमा विश्व बैंकले लगानी गर्दै आएको उल्लेख गर्दै उनले आफूहरू ऊर्जा क्षेत्रमा लगानी विस्तार गर्न इच्छुक रहेको बताएका छन् ।
छलफलका क्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रशारण लाइन समयमै सम्पन्न नहुँदा ऊर्जा खेर जाने अवस्था आएको उल्लेख गर्दै ऊर्जा विकासका लागि आफूहरूलाई समयको चाप रहेको बताए।
विश्व बैंकले नेपालको ऊर्जा क्षेत्रमा नेपाल–भारत विद्युत् प्रशारण तथा व्यापार आयोजनाअन्तर्गत नेपालभित्रको विद्युत् प्रशारण प्रणाली सुदृढीकरण र नेपाल–भारतबीचको विद्युत् व्यापार सहजीकरण गर्दै आएको छ ।