काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठक सकिएको छ । बैठकले तीन विधेयक संसदमा पेस गर्न स्वीकृति दिने निर्णय गरेको छ ।
सरकारका प्रवक्ता कानूनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीका अनुसार सार्वजनिक पद धारण गरेका व्यक्तिको शपथ ग्रहण व्यवस्था गर्न बनेको विधेयक संघीय संसद्मा पेस गर्ने निर्णय बैठकले गरेको बताए । त्यस्तै रासायनिक मल नियन्त्रण दोस्रो संशोधन आदेश २०७८ स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको छ ।
तेजाव तथा अन्य घातक पदार्थको नियमनका सन्दर्भमा व्यवस्था गर्न बनेको विधेयकलाई संघीय संसद्समक्ष पेस गर्नलाई स्वीकृती दिने र नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन सुपरीवेक्षण र समन्वय ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकलाई संघीय संसद्समक्ष पेस गर्न स्वीकृती दिने निर्णय पनि बैठकले गरेको छ।
यस्तै बैठकले समाज कल्याण परिषद्का पदाधिकारीको राजीनामा स्वीकृत गरेको छ । समाज कल्याण परिषद्का उपाध्यक्ष पदमप्रसाद खतिवडासहितका टिमले दिएको राजिनामा स्विकृत भएको छ । यस्तै बैठकले विष्णुप्रसाद सुवेदी गुल्मीलाई गोरखापत्र संस्थानको रिक्त कार्यकारी अध्यक्ष नियुक्त गरेको छ ।