जनकपुरधाम ।दुई वर्षमा निर्माण सम्पन्न हुनुपर्ने धनुषाको मिथिला कोल्ड स्टोरको निर्माण कार्य अझै पूरा हुन सकेको छैन ।
संघीय सरकारको सहयोगमा निर्माण भइरहेको उक्त कोल्ड स्टोर संचालनमा आउन अझै छ महिना लाग्ने देखिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत संघीय सरकारले मिथिला नगरपालिका ७ मा ग्रिन फरेस्ट्री एण्ड एग्रिकल्चर कोल्ड स्टोर निर्माणका लागि अनुदान दिएको थियो ।
मन्त्रालय र संचालकबीच १७ माघ २०७५ मा भएको सम्झौताअनुसार उक्त परियोजना दुई वर्षभित्र सम्पन्न गर्नुपर्ने हो । तर, सम्झौताको झण्डै तीन वर्ष हुन लाग्दा पनि कोल्ड स्टोर संचालनमा आउन सकेको छैन ।
कोल्ड स्टोरको भौतिक संरचना निर्माण अन्तिम चरणमा रहे पनि कुलिङ, क्रेटिङलगायत मेसिन अझै जडान हुन सकेका छैनन् । मेसिन राख्ने भवन, स्टाफ रुम, भवनका पर्खालहरूको भने निर्माण सम्पन्न भएको छ ।
विद्युतीय ट्रान्सफर्मरको जडान र भवनहरूमा वाइरिङको काम भइरहेको कोल्ड स्टोरका संचालक उपेन्द्र चौधरीले बताए । एक भारतीय कम्पनीसँग मेसिनहरू खरिद प्रक्रिया पूरा भइसकेको र दशैँ अघि नै आइपुग्ने चौधरीले जानकारी दिए ।
कोल्ड स्टोर निर्माणमा अहिलेसम्म १५ करोड रुपैयाँ खर्च भइसकेको उनले बताए । अब मेसिन, जेनरेटर तथा व्यवस्थापनलगायतमा पाँचदेखि छ करोड रुपैयाँ थप खर्च हुने उनको भनाइ छ