मनाङका चार मतदान केन्द्रमा १०० भन्दा कम मतदाता

लमजुङ । हिमाली जिल्ला मनाङको चार मतदान केन्द्रमा १०० भन्दा कम मतदाता रहेका छन् । जिल्ला कारागार अस्थायीसहित जम्मा २९ मतदान केन्द्र रहेको मनाङको कुनै पनि मतदानस्थलमा २ वटा मतदान केन्द्र छैनन् । २ वटा केन्द्रमा ५०० भन्दा बढी मतदाता छन् । अरु अधिकांश केन्द्रमा १०० देखि ५० सम्म मतदाता संख्या छ । ४ वटा केन्द्रमा भने १०० भन्दा कम मतदाता छन् ।  ती ४ मतदान केन्द्रमध्ये ३ वटा मतदान केन्द्र नार्पाभूमि गाउँपालिकामा पर्छन् । एउटा चामे गाउँपालिकामा पर्छ । 

नेपालमै सबैभन्दा कम मतदाता भएका केन्द्रमध्ये सिंगो फू गाउँमा मात्रै १४९ मतदाता छन् । 

मनाङको जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माका अनुसार सदरमुकाम चामेको ५ नं. वडा कार्यालय भवन चामेमा पुरुष ४६ र महिला ४७ गरी ९३ जना मतदाता छन् ।

नार्पाभूमि गाउँपालिका १ को वडा कार्यालय भवन नारगाउँमा पुरुष ४१ र महिला ५५ गरी ९६ मतदाता छन् । नार्पाभूमि गाउँपालिका ४, फू गाउँको फू आधारभूत विद्यालय केन्द्रमा ३७ पुरुष र ४१ महिला गरी ७८ जना मतदाता छन् । वडा नं. ५ को कार्यालय मतदान केन्द्रमा पुरुष ३७ र महिला ३४ गरी ७१ जना मतदाता छन् । 

मनाङ ङिस्याङ गाउँपालिका ५ को भ्राका आधारभूत विद्यालय केन्द्रमा सबैभन्दा बढी २८४ पुरुष र २९९ महिला गरी ५ सय ८३ मतदाता छन् । 

मनाङ ङिस्याङ गाउँपालिकाकै ८ नं. वडा कार्यालय भवन केन्द्रमा २४४ पुरुष र २६८ महिला गरी ५१२ मतदाता छन् । अन्नपूर्ण मावि मनाङमा पुरुष २४२ र महिला २४६ गरी ४८८ मतदाता छन् ।
शर्माका अनुसार मनाङमा कूल मतदाता ६ हजार ७७९ छन् । महिला ३ हजार ४९८ र पुरुष ३ हजार २२१ छन् । प्रदेश ‘१’ अन्तर्गत चामे र नासों गाउँपालिकामा महिला १ हजार ३७० र पुरुष १ हजार २५४ गरी २ हजार ६२४ छन् ।

प्रखेश ‘२’ को नार्पाभूमि र मनाङ ङिस्याङ गाउँपालिकामा महिला २ हजार १२८ र पुरुष २ हजार २७ गरी ४ हजार १५५ मतदाता छन् । सबैभन्दा कम नार्पाभूमि गाउँपालिकामा महिला २६१ र पुरुष २ सय ७ गरी ४६८ जनामात्रै मतदाता छन् । नार्पाभूमि नेपालका स्थानीय तहमध्ये सबैभन्दा कम मतदाता रहेको स्थानीय तह हो ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.