राजश्व नबुझाएको भन्दै प्राधिकरणले काट्यो तार, देशभर इन्टरनेट र केवल सेवा प्रभावित

काठमाडौं । इन्टरनेट र केवल सेवा व्यवसायीले पोलभाडा नतिरेको भन्दै नेपाल विद्युत प्राधिकरणले पोलमा झुण्डाइएको केवल तथा इन्टरनेटको तार काट्न शुरु गरेको छ । विद्युत प्राधिकरणको गैरजिम्मेवार कामले इन्टरनेट र केवल सेवा प्रभावित बनेको व्यवसायीहरुको गुनासो छ ।

प्राधिकरणले बिजुलीको पोल प्रयोग गरेबापतको भाडा बढाएको थियो । व्यवसायीले यसको चर्को विरोध गर्दै आएका छन् । प्राधिकरणले एकतर्फि रुपमा सल्लाह नै नगरि भाडा बढाइएकोले वृद्धि भाडादर तिर्न नसकिने भन्दै व्यवासायी पन्छिदै आएका छन् ।

यता प्राधिकरणले भने भाडा नतिरेको भन्दै तार काट्न शुरु गरेको हो । प्राधिकरणले विराटनगर, पोखरा, बुटवल, लुम्बिनी, चितवनलगायतका स्थानमा तार काट्न शुरु गरेको छ ।

तार काटिएको ठाउँमा इन्टरनेटसेवा पूर्णरुपमा अवरुद्ध बनेको छ । इन्टरनेट सेवा प्रदायक संस्थाहरुको संगठन इस्पान र केवल टिभी महासंघले संयुक्त आन्दोलनको तयारी थालेका छन् ।

काठमाडौंका रिङरोड बाहिरका विभिन्न ठाउँमा इन्टरनेटको तार काटिएको छ । इमाडोल, कलंकी, भक्तपुरलगायतका स्थानमा इन्टरनेट अवरुद्ध बनाइएको छ । प्राधिकरणले पूर्व सूचना दिएर तार काटेको दावी गरेको छ । १६ असोजबाट तार काट्न थाल्ने भनेर प्राधिकरणले अगाडि नै सूचना निकालेको थियो ।

नेपाल विद्युत प्राधिकरणले भने पहिलो चरणमा सांकेतिक रुपमा तार काटेको जनाएको छ । सरकारले तोकेको राजश्व नतिरे सबै ठाउँमा तार दोश्रो चरणबाट काटिने पनि प्राधिकरणले जनाएको छ ।प्राधिकरणले इन्टरनेट तथा केवुल टिभीका तारहरु काट्न थालेपछि सेवाप्रदायकहरु आन्दोलित छन् ।

कतै धर्ना दिइरहेका छन् त कतै नारा जुलुस गरिरहेका छन् । सम्बन्धित संस्थाका पदाधिकारीहरु भने मन्त्रालय र विभागमा ज्ञापन पत्र बुझाउने र अनुरोध गर्ने काममा व्यस्त छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.