अन्तरिक्ष स्टेसनमा नेपालीलाई पठाउन चीनको निमन्त्रणा

काठमाडौं - अन्तरिक्ष स्टेसनमा नेपाली एस्ट्राेनटलाई पठाउन चीनले निमन्त्रणा दिएकाे छ । आइतबार एक ट्वीट गर्दै नेपालका लागि चिनियाँ राजदूत चेन सङले नेपालीलाई चिनियाँ अन्तरिक्ष स्टेसनमा सहकार्य गर्न आह्वान गरेका हुन् । चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता ह्वा चुन्यिङले शेन्जोउ १५ का अन्तरिक्ष यात्रीले सफलतापूर्वक अन्तरिक्ष यात्रा गरेको भिडिओ शेयर गरेकी थिइन् । सोही ट्वीटलाई शेयर गर्दै नेपालस्थित चिनियाँ राजदूतले अन्तरिक्ष अन्वेषण गर्न नेपालीलाई पठाउन आह्वान गरेका हुन् ।

"अन्तरिक्ष अन्वेषणका लागि चिनियाँ अन्तरिक्ष स्टेसनमा आफ्ना नेपोलीनट (नेपाली अन्तरिक्षयात्री) पठाउन चीनसँगको सहकार्यमा सहभागी हुन नेपाललाई स्वागत छ," उनले ट्वीटमा लेखेका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार शेन्जाेउ-१५ ताइकोनट्स (चिनियाँ अन्तरिक्षयात्री)ले चीनकाे स्थानीय समयअनुसार शुक्रबार बिहान १२:१६ बजे परिक्रमा गर्ने चिनियाँ तियाङगोङ अन्तरिक्ष स्टेसनमा आफ्नो पहिलो 'स्पेस वाक' गरेका थिए ।

अन्तरिक्षमा यात्रीले करिब सात घन्टासम्म विभिन्न काम गरेका थिए, जसमा यात्रीहरूले मेन्गटियन प्रयोगशाला मोड्युल बाहिर एक्स्टेन्सन पम्पहरूको स्थापना गरेकाे बताइएकाे छ ।

एक्स्ट्रावेहिक्युलर पेलोड, कार्गो एयरलक केबिन, र ट्रान्सफर मेकानिजमको सफल स्थापनाले केबिनभित्र र बाहिर कार्गो एक्सचेन्जको दक्षतामा सुधार गर्ने विश्वास छ । यसले अन्तरिक्षयात्रीको बाह्य गतिविधि र कार्यभार घटाउने बताइएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.