अपांगता समूहमा डेढ करोड, सहकारी गठन गरिँदै

इलाम । सन् २०१५ देखि अपांगता रोकथाम र पुनर्स्थापनाका लागि इलाममा करुणा फाउण्डेसले हेरचाहका लागि उत्प्रेरणा कार्यक्रम सुरु गर्‍यो । कार्यक्रमअन्तर्गत अपांगता भएका व्यक्तिहरूलाई आर्थिक रूपमा सबल बनाउन उनीहरूकै समूह गठन गरेर बिउ पुँजी उपलब्ध गराइएको थियो ।

बिउ पुँजीबाट सानोतिनो व्यवसाय गर्न चाहने अपांगता भएकालाई ऋण दिइन्थ्यो । उनीहरू आवश्यकताअनुसार पालैपालो रकम चलाउँथे र आफ्नो गर्जो टार्थे । बिउ पुँजी पाएपछि समूहमा आवद्ध अपांगता भएकाहरूले त्यसलाई वृद्धि गर्न थाले । कसैले नियमित रूपमा बचत गरेर रकम बढाएका छन् भने कतिले सहयोग जुटाएर । अहिले त्यो रकम झण्डै दोब्बरले बढेको छ ।

करुणा फाउण्डेसले एक लाख ५० हजार र एक लाख रुपैयाँका दरले स्वावलम्बन समूहलाई बिउ पुँजी दिएको थियो । स्थानीय तहको संरचना बन्नुअघि नै गठन भएका गाविसस्तरका स्वावलम्बन समूहले एक लाख ५० हजार रुपैयाँका दरले प्राप्त गरेका थिए । राज्य पुनर्संरचनापछि भने वडा तहमा बनेका स्वावलम्बन समूहलाई एक लाख रुपैयाँका दरले बिउ पुँजी उपलब्ध गराइएको थियो ।

जिल्लाभर रहेका ८१ वटा स्वावलम्बन समूहलाई करुणा फाउण्डेसनले बिउ पुँजी स्वरूप ८५ लाख ५० हजार रुपैयाँ लगानी गरेको थियो ।

अहिले जिल्लाभर रहेका अपांगता स्वावलम्बन समूहसँग एक करोड ५० लाख रुपैयाँ छ । स्वावलम्बन समूहमा आवद्ध सदस्यबाट ३० लाख रुपैयाँ हाराहारी बचत भएको करुणा फाण्डेसनका व्यवस्थापक अजित योञ्जनले बताए । समूहका सदस्यलाई व्यवसाय गर्नका लागि गरिएको ऋण लगानीबाट १५ लाख रुपैयाँ हाराहारी ब्याज संकलन भएको उनको भनाइ छ ।

कतिपय पालिकाले भने अपांगता स्वावलम्बन समूहलाई आर्थिक रूपमा मजबुत बनाउनका लागि बिउ पुँजीमा थप रकम दिने गरेको योञ्जनले बताए ।

इलाममा ८१ वटा स्वावलम्बन समूह छन् । ती समूहमा चार हजार ३०० भन्दा बढी अपांगता भएका व्यक्तिहरू आवद्ध छन् । स्वावलम्बन समूहमार्फत नियमित रूपमा बचत गर्ने, ऋण लगानी गर्ने गरिँदै अएको छ । स्वावलम्बन समूहको कोष बढ्दै गएपछि समूहलाई सहकारीमा रूपान्तरण गर्ने प्रक्रिया सुरु भएको छ ।

पालिकास्तरमा अपांगता भएकाहरूको सहकारी गठन थालिएको हो । देउमाई नगरपालिका र इलाम नगरपालिकामा सहकारी गठन भइसकेको करुणा फाण्डेसनका छवि खतिवडाले बताए । ‘बाँकी आठवटा पालिकामा यही वर्ष सहकारी गठन गर्ने योजनामा छौँ’, खतिवडाले भने, ‘इलाममा करुणाले यही वर्ष मात्र काम गर्ने भएकाले फेजआउट हुनुअघि सहकारी गठन भइसक्छन् ।’

बिउ पुँजीको रूपमा उपलब्ध गराइएको रकम बढ्दै गएकाले त्यसलाई कानुनी मान्यता दिनकै लागि स्वावलम्बन समूहलाई सहकारीमा रूपान्तरण गर्न थालिएको फाउण्डेसनका व्यवस्थापनक अजित योञ्जनले बताए । ‘सधैँ समूहमार्फत नै बचत संकलन गर्न, ऋण लगानी गर्न कानुनी बाधाहरू आउन सक्छन्’, उनले अघि थपे, ‘सहकारीमार्फत गरियो भने त्यसलाई दीर्घकालीन र प्रभावकारी बनाउन सकिन्छ ।’

© 2021 Quicknepal.com  |  All Rights Reserved.