नेपालकै नमुना गाउँ नजरपुर : पूर्ण साक्षर, पूर्ण शाकाहारी
चन्द्रपुर नगरपालिका–९ स्थित नजरपुरटोल वर्षौंदेखि शाकाहारी बस्ती ।

काठमाडौं । चन्द्रपुर नगरपालिका–९ स्थित नजरपुरटोल वर्षौंदेखि शाकाहारी बस्तीको रुपमा परिचित छ । साविक डुमरिया गाविसमा पर्ने नजरपुर अहिले चन्द्रपुर नगरपालिकामा पर्दछ । २०२० सालदेखि बसोवास भएको नजरपुर चन्द्रनिगाहपुर चौकबाट करिब सात किलोमिटर दक्षिणमा छ । शाहाकारी बस्तीको रुपमा परिचित नजरपुर धार्मिक पर्यटन क्षेत्रको रुपमासमेत विकास गर्न थालिएको छ ।

श्रीकृष्ण प्रमाणी धर्मावलम्बी रहेको सो बस्तीको बीचमा श्रीकृष्णको मन्दिर बनाइएको छ । श्रीकृष्ण जन्माष्ठमीलगायत विभिन्न धार्मिक अवसरमा धार्मिक कार्यक्रमहरु हुने गर्छ । सो मन्दिरमा देशका विभिन्न स्थान तथा भारतबाट श्रीकृष्ण प्रणामी धर्मावलम्बीहरु तीर्थाटनका लागि आउने गर्छन् ।

नजरपुर बस्ती बसेसँगै मन्दिर स्थापना गरिएको भए पनि २०५२ सालमा भने मन्दिरको पुनर्निर्माण गरेर आकर्षक र व्यवस्थित गरिएको हो । तत् पश्चात सो मन्दिरमा दर्शनका लागि भारतको गुजरात, सिलगुडी, सुरत, मध्यप्रदेश, बृन्दावन, मथुरा लगायतबाट गुरुहरू तथा भक्तजनहरु आउने गरेको श्रीकृष्ण प्रमाणी मन्दिर नजरपुरका अध्यक्ष दाताप्रसाद दाहालले जानकारी दिए ।

श्रीकृष्ण प्रणामी धर्मावलम्बी रहने भएकाले पूर्ण शाकाहारीहरुको बसोबास रहेको नजरपुरमा एक सय ५० भन्दा बढी घरधुरी रहेका छन् । सो बस्तीमा आधा दर्जन किराना पसल छन्, तर ति पसलमा सुर्ती र मदिराजन्य पदार्थ बिक्री हुँदैन । बिक्री वितरण गर्न मात्रै होइन नजरपुरमा बाहिरबाट लगेरसमेत खान नपाइने स्थानीहरु बताउँछन् ।

नजरपुर पूर्ण साक्षर टोल हो । टोलबासीकै सक्रियतामा १५ वर्षअघि नै पूर्ण साक्षरता बनाइएको स्थानीय शिक्षक उद्धबप्रसाद घिमिरेले बताए । नजरपुरका अधिकांश मानिस कृषि पेशामा आवद्ध छन् । उनीहरु पशुपालन, बिऊ बिजन, दुग्ध सहकारी, कृषि सहकारीमा आवद्ध छन ।

दुर्व्यसन, धुमपान, लागुपदार्थ मुक्त बस्तीको परिचय बनाएको नजरपुरमा तीन हजार भन्दाबढी जनसख्या रहेको छ । पूर्ण शाकाहारी, वली प्रथा निषेधजस्ता कारणले छुटै पहिचान बनाउदै आएको नजरपुरवासीले मासुका लागि बिक्री हुने पशुपंक्षीहरु हांस, कुखुरा, परेवा ,खसीबोका, बाख्रासमेत पाल्ने नगरेका चन्द्रपुरका मेयर रामचन्द्र चौधरी बताउँछन ।

करिब ५५ वर्ष यतामा नजरपुरवासीविरुद्ध अदालतमा मुद्दासमेत नपरेको स्थानीय मदन सापकोटा दावी गर्छन् । ‘नजरपुरमा झैझगडा, मुद्दा मामिला नै हुँदैन, किन जानुपर्यो अड्डा अदालत रु’, उनी भन्छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.