नगरपालिका र कर्मचारीबीच १२ बुँदे कार्यसम्पादन सम्झौता
नगर कार्यपालिकाको भूमिकालाई सक्षम, सुदृढ, सेवामुलक र उत्तरदायी बनाउँदै समग्र सेवालाई सुधार गर्ने लक्ष्यका साथ प्रमुख प्रशासकीय अधिकृतसँग कार्य सम्पादन सम्झौता गरेको हो ।

खोटाङ ।  खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृतसँग कार्य सम्पादन सम्झौता गरेको छ । नगरपालिका तथा नगर कार्यपालिकाको भूमिकालाई सक्षम, सुदृढ, सेवामुलक र उत्तरदायी बनाउँदै समग्र सेवालाई सुधार गर्ने लक्ष्यका साथ प्रमुख प्रशासकीय अधिकृतसँग कार्य सम्पादन सम्झौता गरेको हो । नगरपालिका तथा सो अन्तर्गतका निकायको परिणाममुखी व्यवस्थापन र सञ्चालन गर्दै नतिजामुखी सेवा प्रवाहका लागि शुक्रबार मेयर दिपनारायण रिजाल र प्रमुख प्रशासकीय अधिकृत टेकनाथ दाहालबिचमा १२ बुँदे कार्य सम्पादन सम्झौता भएको छ । स्थानीय सरकार संचालन ऐन, निजामती सेवा ऐन, निजामती सेवा नियमावली, सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन लगायतका प्रचलित ऐन, नियम, कार्यविधि, निर्देशिकाले परिलक्षित गरे अनुसार मेयर रिजालसँग कार्य सम्पादन सम्झौता गरेका प्रमुख प्रशासकीय अधिकृत दाहालले लगत्तै नगरपालिकाका विभिन्न विषयगत शाखा प्रमुख तथा विषयगत शाखा प्रमुखले मातहतका कर्मचारीसँग कार्य सम्पादन सम्झौता गरेका छन् ।

मेयर रिजाल र प्रमुख प्रशासकीय अधिकृत दाहालबिचमा नेपाल सरकार र प्रदेश सरकारबाट प्राप्त हुने अनुदान र आन्तरिक स्रोत साधन तथा अन्य निकायबाट प्राप्त हुने बजेट तथा लगानीको उपयोग गरी कार्य गर्ने, नगरपालिकाले सम्झौतामा उल्लिखित कार्यक्षेत्रको कार्यान्वयनका लागि प्रमुख प्रशासकीय अधिकृतलाई सहजीकरण, समन्वय र मार्गदर्शन गर्ने कार्यसम्पादन सम्झौतामा उल्लेख छ । यस्तै, प्रचलित कानूनमा संशोधन वा परिवर्तन भए सोही अनुसार कार्यसम्पादन सम्झौतामा परिवर्तन भएको मानिने, राजनैतिक विचारप्रति तटस्थ रही सेवा प्रति इमान्दार रहने, नगरवासीप्रति जिम्मेवार रही जवाफदेही मूलक ढङ्गले कार्यसम्पादन गर्ने, ‘म भ्रष्टाचार गर्दिन र अरुलाई पनि भ्रष्टाचार गर्न दिने छैन’ भन्ने भ्रष्टाचारप्रतिको शून्य सहनशीलतालाई कार्यान्वयनमा ल्याउने लगायतका बुँदा उल्लेख छ । सोही सम्झौताकै आधारमा प्रमुख प्रशासकीय अधिकृतले नगरपालिका अन्तर्गतका वडासँग समेत कार्यसम्पादन सम्झौता गर्नुपर्ने नगरपालिकाले जनाएको छ । 

कम्तिमा १० प्रतिशतले कूल आन्तरिक आय वृद्धिको लक्ष्य 

कार्य सम्पादन सम्झौतामा प्रमुख प्रशासकीय अधिकृतले शासकीय सम्वन्ध, योजना तर्जुमा र कार्यान्वयन, सुशासन, सेवा प्रवाह र सूचना प्रविधि, आन्तरिक स्रोत व्यवस्थापन, स्थानीय पूर्वाधार विकास लगायतका १४ शिर्षकमा हाँसिल गर्नु पर्ने नतिजामूलक कार्य सूचकहरूमा सम्झौता गरेका छन् । शासकीय प्रबन्धतर्फ प्रचलित ऐन–कानूनमा तोकिए बमोजिमको समय सीमा भित्र तोकिएको विधि, पद्धती, प्रक्रिया अनुरूप बैठक सञ्चालन भएको हुने, योजना तर्जुमा र कार्यान्वयनतर्फ नगरपालिकाले ७ चरणको सहभागितामूलक पद्धति अपनाउँदै नगर आवधिक विकास र वार्षिक विकास योजना तर्जुमा गरी कार्यान्वयनमा ल्याएको हुने, नगरपालिकाले आवधिक योजनाको आधारमा प्रत्येक आर्थिक वर्ष ३ वर्ष अवधिको मध्यमकालीन खर्च संरचनाको खाका तयार गरी कार्यान्वयनमा ल्याएको हुने उल्लेख छ ।

यस्तै, सुशासन, सेवा प्रवाह र सूचना प्रविधितर्फ नागरिक बडापत्र र हेल्पडेस्कको व्यवस्था, सार्वजनिक सुनुवाई र सामाजिक परीक्षण एवं सार्वजनिक परीक्षण गरेको, ठेक्कामा इ–बिडिङ लागू गरेको, विद्युतीय सुशासनको अभ्यास गरेको, आन्तरिक श्रोत व्यवस्थापनतर्फ नगरको कूल आन्तरिक आय प्रत्येक वर्ष अघिल्लो आर्थिक वर्षको तुलनामा कम्तिमा १० प्रतिशतले वृद्धि भएको, राजस्व सफ्टवेयरको प्रयोग भएको हुने कार्य सम्पादन सम्झौता गरिएको नगरपालिकाले जनाएको छ । स्थानीय पूर्वाधार विकासतर्फ नगर यातायात गुरुयोजना अद्यावधिक रहेको, स्थानीय भवन संहिता कार्यान्वयनमा ल्याईएको, नगरभित्रका सबै सडकको राईट–अफ–वे निर्धारण भएको, पूर्वाधार निर्माण गर्दा जोखिम न्यूनीकरण, समावेशी सरोकारको सम्बोधन भएको, विषयगत क्षेत्रतर्फ आधारभूत स्वास्थ्य सेवामा नगरवासीको पहुँच पुगेको, शिक्षामा सम्पूर्ण बालबालिकाको पहुँच पुगेको, कृषि तथा पशुपन्छी विकास क्षेत्रमा उल्लेखनीय सुधार भएको, उद्यमशीलताको विकास र प्रवद्र्धन भएको हुने उल्लेख छ । 

यस्तै, सामाजिक सुरक्षा र व्यक्तिगत घटना दर्तातर्फ सामाजिक सुरक्षा भत्ता तोकिए बमोजिम वितरण भएको, व्यक्तिगत घटना दर्ता अभिलेख अद्यावधिक भएको, वातावरण संरक्षण र सरसफाई तथा विपद व्यवस्थापनतर्फ प्राकृतिक श्रोतको समुचित उपयोग एवं दिगो व्यवस्थापन भएको, प्राकृतिक श्रोत, वातावरण र जैविक विविधताको संरक्षण भएको, ल्याण्डफिल्ड साइट र कम्पोष्ट तथा वायोग्याँस प्लान्ट व्यवस्थित गरी सञ्चालनमा ल्याएको, प्रशासकीय व्यवस्थापन र नियन्त्रणतर्फ स्थानीय तह संस्थागत क्षमता स्व–मूल्याङ्कनमा उच्च अंक प्राप्त गरेको हुने भनिएको छ । लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणतर्फ स्थानीय योजना प्रक्रियामा महिला, दलित, जनजाती, अपाङ्ग लगायतका लक्षित वर्गको सहभागितामा बढोत्तरी भएको, लैङ्गिक उत्तरदायी बजेट परीक्षण भएको, भू–उपयोग तथा व्यवस्थापनतर्फ नगरपालिकामा भू–उपयोग योजना कार्यान्वयनमा ल्याईएको हुने, ऐतिहासिक स्थल पहिचान गरी संरक्षण तथा पर्यटकीय प्रबद्र्धनमा ल्याईएको हुने, आर्थिक प्रशासन तथा वित्तीय अनुशासनतर्फ सम्पूर्ण आर्थिक कारोबार सुत्र लगायतका सफ्टवेयर तथा प्रणालीमार्फत व्यवस्थित भएको हुने, पेश्की तथा बेरुजु फर्छ्यौटमा उल्लेख्य उपलब्धी हासिल भएको हुने लगायत उल्लेख छ । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.