रुपन्देही । रुपन्देहीको मोतिपुरमा झडप हुँदा मृत्यु हुनेको संख्या ४ पुगेको छ । औद्योगिक क्षेत्रमा आइतबार झडप दिउँसोसम्म हुँदा तीन जनाको मृत्यु भएको थियो । साँझा थप एक जनाको उपचारकै क्रममा ज्यान जाँदा मृत्यु हुनेको संख्या ४ पुगेको हो । मृत्युको हुनेको संख्या चार पुगेको भैरहवा मेडिकल कलेजले जनाएको छ ।
मोतिपुर घटनामा आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा १४ जना भन्दाबढि घाइते भएका छन् । औद्योगिक क्षेत्रको जग्गा सुकुम्बासीको नाममा कब्जा गर्न खोजेपछि घटना भएको थियो ।
झडपपछि स्थानीय प्रशासनले हाल त्यस क्षेत्रमा कर्फ्यू जारी गरेको छ । आइतवार बेलुकासम्म पनि प्रदर्शन नियन्त्रणमा लिन नसकेको स्थानीय प्रशासनले जनाएको छ ।
सुकुम्बासी समूहसँगको झडपमा सुरक्षाकर्मीले गोली चलाउँदा घाइते भएकामध्ये चार जनाको मृत्यु भएको हो । तीन जनाको अस्पताल लाँदै गर्दा र एक जनाको उपचारका क्रममा मृत्यु भएको हो ।
पूर्वमा तिनाउ नदी, पश्चिममा हरिहरपुरको खेती योग्य जमिन, उत्तरमा शिवनगर रानीगञ्ज वस्ती र दक्षिणमा बुटवल उपमहानगरपालिका–१८ औद्योगिक करिडोरको जमिन रहेको भागसम्म आइतबार ४ बजेदेखि लागू हुने गरी कर्फ्यू लगाइएको प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए ।
औद्योगिक क्षेत्रको जग्गाबाट स्थानीयलाई हटाउन खोज्दा तनावको स्थिति सिर्जना भएको र गोली चलाउनु परेको प्रहरीले दाबी गरेका छन् । तर स्थानीयले भने प्रशासनले अन्धाधुन्दा गोली चलाउन आदेश दिएर ज्यादती गरेको बताएका छन् । स्थानीय ३१ वर्षीय हिमाल रानालाई प्रहरीले राति १ बजे घर घेराउ गरी पक्राउ गरेपछि स्थानीय आक्रोशित भएका थिए।