मोतिपुर घटना : मृतकको परिवारलाई प्रदेश सरकारले एक लाख दिने

बुटवल । रुपन्देहीको मोतिपुरका भएको घटनामा ज्यान गुमाएका परिवारलाई प्रदेश सरकारले एक लाख दरले क्षतिपूर्ति दिने घोषणा गरेको छ । आइतवार मोतिपुरमा स्थानीय र प्रहरीबीच झडप हुँदा दुई दर्जनबढि घाइते भएका थिए । घाइतेमध्ये चार जनाको मृत्यु भएको छ ।

लसम्बिनी सरकारले किरिया खर्चको रुपमा मृतकको परिवारलाई एक लाख प्रदान गर्ने जनाएको हो । मोतिपुरस्थित औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्न खोज्दा प्रहरीले प्रतिकार गरेको थियो । त्यसपछि झडप शुरु हुद्या प्रहरीले गोली र पेट्रोल बम प्रहार गरेको थियो ।

घटनावारे छानविन गर्न सुरक्षा परिषद्सहितको बैठकले सोमबार सो निर्णय गरेको हो । बैठकले सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा घटना अध्ययन गरी सुझाव दिन कार्यदल पनि गठन गरेको छ ।

बैठकमा मुख्यमन्त्री केसीले लुम्बिनी प्रदेश सरकार वास्तविक सुकुम्बासीको समस्या समाधान गर्न तयार रहेको बताएका थिए । वास्तविक सुकुम्बासीको समस्या समाधान गर्न प्रदेश सरकारले अध्ययन गरिरहेको भन्दै उनले अहिले विवाद भएको ठाउँ प्रदेशले नचलाएको र औद्योगिक ग्राम नै हडप्न आएपछि प्रहरीले सुरक्षाको लागि गोली चलाएको उल्लेख गरे ।

आगामी दिन सो स्थानमा थप क्षति हुन नदिन प्रहरी संवेदनशील हुने, घाइतेहरूको प्रदेश सरकारले उपचार गर्ने र सुकुम्बासीको पहिचानका लागि छिटो कार्य अघि बढाउने बैठकले निर्णय गरेको छ । सोमबारको घटनाबारे जिल्लाका सबै सुरक्षा निकायले मुख्यमन्त्री र प्रमुख जिल्ला अधिकारीलाई ब्रिफिङ गरेका थिए ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.