यस्तो छ सरकारले तोकेको मासुको मुल्य

काठमाडौं । काठमाडौं उपत्यकामा दशैँ एक वर्षका लागि तयारी मासुको बिक्री मूल्य निर्धारण गरेको छ । सरकार र व्यवसायीबीचको आपसी सहमतिमा एक वर्षका लागि मासुको अधिकतम खुद्रा बिक्री मूल्य निर्धारण गरेको हो ।

वाणिज्य विभागसँगको समझदारीमा खसी, कुखुरा, राँगा र बंगुरको मासुको मूल्य गएको मुल्य सुचिका आधारमा राख्ने सहमति भएको राष्ट्रिय मासु व्यवसायी संघले जनाएको छ ।
यो मूल्य अबको एक वर्षका लागि मान्य हुने संघका अध्यक्ष रमेश खड्गीले बताए । तोकिएको नयाँ मूल्य तालिकाअनुसार खसीको मासुको मूल्यलाई तीन खण्डमा विभाजन छुट्याएर मूल्य तोकिएको छ ।

आन्द्रा र भुँडी मिसिएको खसीको प्रतिकिलो मूल्य एक हजार रुपैयाँ तोकिएको छ । आन्द्रा, भुँडी र बोसो नमिसिएको, तर बिक्रेताले छानेर दिने मासुको प्रतिकिलो मू्ल्य १२ सय रुपैयाँ निर्धारण गरिएको छ ।
यस्तै उपभोक्ताले छानेर खरिद गर्ने खसीको मासुको मूल्य किलोमा १३ सय रुपैयाँ तोकिएको अध्यक्ष खड्गीले बताए ।

ब्रोइलर कुखुराको मासुको मूल्य तीन सय रुपैयाँ किलो कायम गरिएको छ । कुखुराको तयारी मासुको मूल्यमा किलोमा ५ देखि १० रुपैयाँ भने तलमाथि हुनसक्ने संघले जनाएको छ । यस्तै, उपभोक्ताले छानेर खरिद गर्न सक्ने राँगा र बंगुरको मासुको प्रतिकिलो मूल्य पनि पाँच सय रुपैयाँ किलो कायम गरिएको छ ।

माछाको मूल्य भने उच्च उतार चढाब हुने भएकाले यकिनसंग तोक्न नसकिएको संघले जनाएको छ । बजारमा अत्यधिक मात्रामा रुचाइने रहु माछाको मूल्य किलोमा ३५० देखि चार सय हाराहारी पर्ने संघको अनुमान रहेको छ । गएको शुक्रबार कम्पनीले जिउँदो खसीबोकाको मूल्य निर्धारण गरेको हो ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.