तलेजु भवानी मन्दिरमा यो वर्ष बली नदिने(फोटोसहित)

काठमाडौं । भक्तपुर दरबारस्थित मल्ल्कालिन इतिहास बोकेको तलेजु मन्दिरमा दिइने बली रोकिएको छ । सर्वसाधारणका लागि वर्षमा एक दिन मात्रै खुल्ला हुने यो मन्दिरमा यो वर्षको बली पूजा रोकिएको हो । यस मन्दिरमा सरकारी स्तरबाटै राँगा र बोका बली चढाउँदै आएको छ । बली चढाउने क्रममा मन्दिर परिसरमा भिडभाड हुने र कोभिड फैलने उच्च जोखिम भएको हुँदा यो वर्ष बली नचढाउने निर्णय गरिएको भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापति बताउँछन् ।


चली आएको चलनलाई नगरपालिकाकै निर्णय अनुरुप रोक्नु उचित नभएको स्थानिय युवा रामेश्वर सैजु बताउँछन् । स्थानिय सरकारको निर्णयमै चाडपर्व मनाउने र परम्परा मान्दै आउने हो भने संस्कृति लोप हुन समय नलाग्ने उनको तर्क छ ।
नेवार समुदायले तलेजु भवानीलाई इष्टदेवको रुपमा पूजा गर्ने चलन रहेको छ । दशैंको नवमीमा मात्र मन्दिर खुल्ने भएको हुँदा सोही दिन आफ्नो इष्टदेवको पूजासँगै भाकलमा राखिएको बोका, हाँस र कुखुराको बली चढाउने गरेको स्थानिय एक वृद्ध बताउछन् । सरकारले गत वर्षपनि बली र पूजा रोेकेको र यस वर्ष पनि सोही निर्णय गरिएकोमा स्थानियले असन्तुष्ट पोखेका छन् ।


घटस्थापनाको विहानबाटै स्थानियहरु पूजा गर्न आएको र मन्दिर प्रवेशमा रोक लगाएको भन्दै आक्रोश पोख्ने गरेको मन्दिर रहोबरमा अटिएका एक शशस्त्र जवान बताउँछन् । सिडियो र स्थानिय सरकारको निर्णयमा बन्द भएको मन्दिर पूजा शशस्त्रले बन्द गरिएको भन्दै आफूहरुमाथि अनावश्यक गाली गलौज गर्ने गरेको उनले बताए ।
कोभिडभन्दा अगाडीका वर्षहरुमा घटस्थापनाको दिनदेखि नै मन्दिरमा पूजा गरिन्थ्यो । तलेजु मन्दिरभित्र प्रवेश नपाएपनि ढोकाबाटै पूजा सामाग्री पूजारीलाई थमाउने गरेकोमा यो वर्ष मन्दिरको ढोकामा पुग्न पनि रोक लगाइएको छ । कोरोनाकै कारण ३ जना पूजारीले समेत ज्यान गुमाएको हुँदा पूजारीले पूजा सामाग्री लैजान मानेका छैनन् ।


मेयर प्रजापतिका अनुसार गत दुई वर्षमा कोरोना रोकथाम, उपचार र क्वरेन्टिनका लागि थुप्रै खर्च भएको छ । कोरोना संक्रमणकै कारण ३ जना पूजारीको समेत मृत्यु भएको हुँदा यो वर्षको बली रोकिएको हो । बली रोक्ने निर्णय भने गुठी संस्थान, सिडियो कार्यालय र नगरपालिकाको संयुक्त बैठकबाट भएको मेयर प्रजापतिको भनाई छ ।
हाल मन्दिरको दैनिक पूजाआजाका लागि ६० जना पूजारी रहेका छन् । पूजारीहरु स्वयमले बली पूजा गरेर कोरोनाको जोखिम मोल्न नसक्ने गुनासो गरेको छन् । यसैपनि तलेजु मन्दिर परिसर साँधुरो छ । बली चढाउनका लागि सरकारले नै ५४ वटा राँगा, ५४ वटा बोका र हाँस कुखुरा ल्याउने गर्दछ । साथै नेवारी समुदायको इष्टदेवताको रुपमा रहेकोले पनि स्थानियले सोही संख्यामा बली चढाउने भएकोले मन्दिर परिसरमा अत्याधिक रुपमा भिडभाड बढ्ने गर्दछ ।

यसरी भिडभाड बढेसँगै कोरोना संक्रमणको उच्च जोखिम बढ्ने भएको हुँदा यो वर्ष मन्दिरमा बली रोकिएको मेयर प्रजापतिको भनाई छ । ‘अरुले के गर्छ त्योसँग कुनै सरोकार भएन, तर आफ्नो जनताको स्वास्थ्यको चिन्ता भएकोले भक्तपुर क्षेत्रमा भिडभाड लाग्ने कार्यमा रोक लगाएका हौं ।’ मेयर प्रजापतिका अनुसार कोरोना निर्मुल नभएसम्म मन्दिरमा साधारण पूजा पाठ भने जारी रहनेछ ।
तलेजु भवानी मन्दिरको नित्य पूजाका लागि मात्रै ६० जना पूजारी रहेको भक्तपुर नगरपालिकाका मेयर प्रजापतिले बताए । घटस्थापनाको दिनदेखि कोजाग्रत पूर्णिमाको दिनसम्म जिवित देवीको रुपमा लिइने कुमारीको पूजा समेत यहि मन्दिरमा गरिन्छ । साथै यस मन्दिर परिसरमा प्रत्येक वर्ष ७५ वटा ठूला तथा साना २४ वटा पर्व मनाउने गरिन्छ ।

मल्लकालिन इतिहास बोकेको यस मन्दिरमा कोतपर्व पश्चात प्रत्येक वर्ष दशैंको नवमीका दिन ५४ वटा राँगा र ५४वटा बोकाको बली दिने चलन चलाइयो । राणाकालिन समयमा पाप मोचनका लागि चलाइएको परम्परालाई नेपाल सरकारले अझै निरन्तरता दिँदै आइरहेको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.