कैलाली । बर्षाका कारण बाढी पहिरोमा परि ज्यान गुमाउनेको संख्या बढिरहेको छ । बाढी पहिरोमा परि देशभर २१ जनाको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ । देशका विभिन्न ठाउँमा गरि २१ जनाको ज्यान गएको गृह मन्त्रालययले जनाएको हो ।
कैलाली, कञ्चनपुर, डोटी, बैतडी, कालिकोट, डडेलधुरा, सुर्खेतलगायतका ठाउँमा गरि २१ जनाको ज्यान गएको हो । डोटी जिल्लामा ९ जनाले ज्यान गुमाएका छन् । यस्तै बैतडीामा ३, डडेलधुरामा २, कैलालीमा ४, कालिकोटमा २ जनाले ज्यान गुमाएका छन् ।
यस्तै विभिनन ठाउँमा गरि ३७ भन्दाबढि अझै बेपत्ता रहेको पनि गृह प्रशासनले जनाएको छ । डोटी, बझाङ र बैतडी लगायतका ठाउँमा अझै केही मानिस बेपत्ता छन् । यस्तै महाकाली नदी र आसपासका टापु क्षेत्रमा पनि केही मानिस बेपत्ता छन् ।
यस्तै देशरभर सयौं जना उद्धारको पर्खाइमा रहेका छन् । महाकाली नदी आसपासका क्षेत्र, टापु र विभिन्न जिल्लामा फसेका लाई हेलिकप्टर नै गएपनि मौसम खराबका कारण उद्धार गर्न सकिएको छैन । यस्तै बैतडीको सिगासमा बस्तीभित्र सेती नदीको बाढी पसेपछि ६० जना उद्दारको पर्खाइमा छन् । सोमवारदेखी उद्धारका लागि पीडितले आग्रह गरिरहेका छन् । कैलाली र कञ्चनपुरमा पनि उद्धारको पर्खाइमा रहेकाहरुको उद्धार गर्न सकिएको छैन ।
बझाङमा २३ जना वेपत्ता, बैतडीमा ५० जना थुनिए, उद्धारका लागि हेलिकोप्टर जान सकेन
सोमबारदेखिको अविरल वर्षापछि आएको बाढी पहिरो तथा डुबानले सुदूरपश्चिममा ठूलो जनधनको क्षति भएको छ । अझै पनि वर्षा भइरहँदा उद्धार तथा राहतमा कठिनाई भइरहेको छ । जनधनको क्षतिको विवरण आउने क्रम जारी छ ।
मुख्यमन्त्री कार्यालयका अनुसार हालसम्म बझाङमा २३ जना पहिरोमा परी वेपत्ता भएका छन् । बैतडी र डोटी सीमामा ५० देखि ६० जना थुनिएका छन् । डोटीमा ३ जनाको मृत्यु भएको छ ।
सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले पहाडी जिल्लामा बिजुली आपूर्ति रोकिकाले सबै ठाउँमा सम्पर्क हुन नसकेको बताए । विद्युतसँगै टेलिफोन सेवा पनि अवरुद्ध भएकाले समस्या भएको उनको भनाइ छ ।
भट्टले प्रतिकूल मौसमका कारण उद्धारमा कठिनाई भएको पनि बताए । ‘तत्काल उद्धार र व्यवस्थापन गर्ने भनेर प्रदेशको सम्पूर्ण संयन्त्र लागेको छ । उद्धार कार्यमा कुनै पनि कमी नहुनेगरी लागेको छ । मन्त्रीहरु नै लागेका छन् । संघीय गृहमन्त्रीसँग पनि कुरा भएको छ,’ उनले भने, ‘कञ्चनपुरमा मौसमका कारण हेलिकोप्टर ढिला भयो ।
ढिलै भए पनि फसेका ५ जनाको उद्धार गरियो । पहाडी जिल्ला बैतडी डोटीको सीमामा ५०र६० मान्छे थुनिएका छन् । त्यहाँ पनि हेलिकोप्टर पठाइयो । तर दिपायल पनि पुग्न नसक्ने अवस्था भएकाले उद्धार गर्न सकिएको छैन ।’
उनका अनुसार प्रदेशका ठूला नदीहरुमा अहिलेसम्मै ठूलो बहाव देखिएको छ । महाकालीमा अहिलेसम्मकै उच्च बहाव देखिएको छ । कर्णालीमा पनि बहाव बढेको छ । डोटीमा पनि यति धेरै बहाव बढेको पहिलो पटक नै भएको उनको भनाइ छ ।
दमकको पशुहाटमा ७ घर खोलाले बगायो
अबिरल वर्षपछि आएको बाढी र पहिरोका कारण देशभर ठूलो जनधनको क्षति भएको छ । झापाको दमक–७ स्थित पशुहाटमा सात ओटा घर खोलाले बगाएको छ ।
मंगलबार राती अबेरदेखि परेको अविरल बर्षाका कारण रतुवा खोलाको बाढीले पशुहाटका ७ घर बगाएको हो । घर बगाएपछि बिस्थापितलाई रेडक्रसको सहयोगमा आफन्तको घरमा राखिएको छ ।
हुम्लामा एकै परिवारका ६ जना पुरिए
हुम्लामा अबिरल वर्षपछि पहिरो खसेर घर भासिदा एकै परिवारका ६ जना पुरिएका छन् । जिल्लाको खार्पुनाथ गाउँपालिका वडा नम्बर ५ खर्पेगाउँमा एकै परिवारका ६ जना पुरिएका हुन् ।
खर्पेगाउस्थित बिचदउडामा रहेको धनविरे शाहीको घरमा पहिरो खस्दा घरमा रहेका धनबिरे शाही, कलबहादुर शाही, आसा शाही र उनका ११ , ५ र ३ वर्षीय छोरा सहित ६ जना पुरिएका हुन् ।
एकै परिवारका ६ जना पुरिएको खबर सार्वजनिक भएपछि बुधबार बिहान प्रहरी टोली घटनास्थलतर्फ जान लागेको हुम्लाका प्रमुख डिएस्पी हेरम्ब शर्माले जानकारी दिए ।
धरान र विराटनगर जाने सडक बन्द
सुनसरीको तरहरास्थित पानीपियामा बाढीमा फसेका छ घर परिवारलाई सुरक्षाकर्मीले उद्धार गरेको छ ।
नेपाल प्रहरी र नेपाली सेनाले ती घर परिवारका १५ जनालाई उद्धार गरेको हो । उनीहरूलाई घण्टौँ लगाएर उद्धार गरिएको इलाका प्रहरी कार्यालय तरहराका प्रहरी नायव निरीक्षक मनोज अधिकारीले जानकारी दिए ।
यस्तै, निरन्तरको वर्षाले सुनसरीको इटहरी उपमहानगरका अधिकांश क्षेत्र डुबानमा परेका छन् । इटहरीका बुढी खोला, टेङ्ग्रा खोला र खेती खोला मानव बस्तीमा पसेसँगै डुबान बनेको हो । इटहरी चोक, तरहरा, बरगाछीलगायतका स्थानमा डुबान भएको छ ।
डुबानका कारण कतिपय बस्तीमा मानिसहरू फसेका छन् । उनीहरूको उद्धार गर्ने काम भइरहेको छ । वर्षाकै कारण इटहरीदेखि धरान जाने मुख्य सडक खण्डसमेत अवरुद्ध भएको छ । त्यस्तै, इटहरीदेखि विराटनगर जोड्ने सडकमा समेत आवतजावत बन्द भएको छ ।
लेउती खोलाको बाढीले कोसी राजमार्ग बगायो
अविरल परेको पानीका कारण लेउती खोलामा आएको बाढीले सडक बगाउँदा कोसी राजमार्गअन्तर्गत धरान(धनकुटा सडक पूर्ण रूपमा अवरुद्ध बनेको छ ।
लेउती खोलाको बाढीले साँगुरीगढी गाउँपालिका६ फेदीमा करिव ५० मिटर सडक बगाएको सडक डिभिजन कार्यालयका सुपरभाइजर अमृता राईले बताइन् । मंगलबार दिउँसो ४ बजेतिर पानीको बहाव बढेसँगै लेउती खोलाको धार परिवर्तन भई कोसी राजमार्गमा सडकमा पसेको थियो ।
उनका अनुसार क्षति भएको सडकसम्म जाने स्थिति नै छैन । खोला उर्लिएको छ । बालुवा तथा माटोसहितको बाढी आइरहेको छ।
बाटो बगाएपछि अहिले सडक पूरै अवरुद्ध छ । धरानदेखि आएका र धनकुटाबाट गएका गाडीहरू बाटोमा नै रोकिएका छन् । सडक बगाएपछि धनकुटासहित तेह्रथुम, भोजपुर तथा संखुसभाबाट तराई जाने तथा तराईबाट धनकुटासहित तेह्रथुम, भोजपुर तथा संखुवासभा जाने यातायातका साधन बाटैमा रोकिँदा सयौँ यात्रु बीच बाटोमै अलपत्र परेका छन् । पानीको बहाव बढेका कारण सडकमा अझै क्षति हुने संभावना रहेको उनले बताइन् ।
राईका अनुसार तत्काल कुनै वैकल्पिक बाटो बनाउने स्थिति छैन । यस कारण चाँडै सडक खुल्ने संभावना पनि छैन। अविरल रूपमा पानी परिरहेका कारण राजमार्गका वरपरि पहिरोको संभावना अझ बढेको छ । बढीले सडक बगाएको क्षेत्रमा कुनै बस्ती रहेको छैन ।
बाटो बगाएदेखि तीन मिटर वर फेदी खोलामा पुल रहेको छ । त्यहाँ केही होटल र स्थानीयको घर रहेका छन् ।
जिल्ला सदरमुकामदेखि सुरक्षाकर्मीको टोली बटो बगाएको स्थानमा पुगेका बतइएको छ । यता, जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाका प्रमुख सुरेन्द्र खड्काले कोसी राजमार्गका विभिन्न ठाउँमा पहिरो गइरहेको बताए । उनका अनुसार सदरमुकाम मास्तिरको सल्लेरीमा रूख ढल्दा बाटो अवरुद्ध बनेको छ । त्यहाँ सुरक्षाकर्मी र स्थानीयले रूख पन्छाएका छन् । उनले भने, ठाउँठाउँमा रूख ढलेका छन् । ढलेका रूख पन्छाउने काम भइरहेको छ । लगातार पानी परिरहेकोले थप क्षति हुने संभावना छ ।
यस्तै, हिले–भोजपुर सडक पनि अवरुद्ध भएको छ । हिले(भोजपुर सडक खण्डअन्तर्गत पाख्रिवास नगरपालिका( ६ डिकुरेमा सडक अवरुद्ध बनेको हो । सडकमाथिबाट लेदो माटोसहित ढुंगा निरन्तर बगिरहेको छ । बाटो खुलाउन प्रहरी र डोजर घटनास्थल पुगे पनि निरन्तर वर्षाका कारण सडक खुलाउन नसकिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरीक्षक नहकुल पोख्रेलले जानकारी दिए ।
वर्षाले विराटनगर विमानस्थल अवरुद्ध
सोमबारदेखिको अविरल वर्षाले विराटनगर विमानस्थलको सेवा अवरुद्ध भएको छ । वर्षाले विमानस्थलमा पानी भरिँदा सेवा अवरुद्ध भएको विमानस्थल प्रशासनले जनाएको छ ।
विमानस्थलको सेवा अवरुद्ध भएपछि उडान पनि प्रभावित भएको छ । वर्षाका कारण विराटनगर विमानस्थल अवरुद्ध भएकाले आफूहरुको विराटनगर उडान आज प्रभावित हुने बुद्ध एयरले जनाएको छ ।
बाढी पहिरोमा फसेकाहरुको उद्धारका लागि हेलिकोप्टर पठाउने तयारी
अविरल वर्षासँगै सुदूरपश्चिममा आएको बाढी पहिरोमा परेर फसेका नागरिकको उद्धारका लागि प्रदेश सरकारले पहाडी जिल्लामा हेलिकोप्टर पठाउने तयारी गरेको छ ।
मंगलबार मौसम अनुकूल नहुँदा पहाडी क्षेत्रमा हेलिकोप्टर पठाउन सकिएको थिएन । आज मौसममा केही सुधार भएसँगै बैतडी र बझाङस्थित बाढी पहिरोमा परेर फसेका नागरिकको उद्धारका लागि हेलिकोप्टर पठाउने तयारी गरिएको आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले बताइन् ।
प्रदेश सरकारकी प्रवक्तासमेत रहेकी मन्त्री जोशीले उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर पठाइने बताइन् । ‘पहाडी क्षेत्रमा सञ्चार सेवा विच्छेद हुँदा जोखिमको पूर्ण जानकारी आएको छैन,’ मन्त्री जोशीले भनिन्, केही स्थानमा हिजोदेखि मानिस फसेको भन्ने जानकारी आएको छ । ती स्थानमा तत्कालै हेलिकोप्टर पठाउने तयारी गरिएको छ ।
लुम्बिनीका ३६ हजार हेक्टर धानबालीमा क्षती
आइतबारदेखिको अविरल वर्षाले लुम्बिनी प्रदेशका १२ जिल्लाका किसानले ३६ हजार ४ सय ८० हेक्टर खेतमा काटेर भित्र्याउन तयार पारेको धानबालीमा क्षति पुगेको लुम्बिनी प्रदेशको कृषि निर्देशनालयले े जनाएको छ ।
१२ जिल्लाका कृषि ज्ञान केन्द्रबाट संकलन गरेको तथ्यांक अनुसार प्रदेशमा कुल ३ लाख १७ हजार ४ सय १४ हेक्टरमा धान खेती भएको बताइएको छ ।
५५ हजार ५४ हेक्टरबाट किसानले धान भित्राइसकेको र ९३ हजार ५ सय ७६ हेक्टरमा तयारी भएको अवस्थामा बर्षाका कारण धानबाली नष्ट भएको निर्देशनालले जनाएको हो । लुम्बिनीमा ३६ हजार ४ सय ८० हेक्टर खेतबाट १ लाख २७ हजार ६ सय ८० मेट्रिक टन धान वर्षाले क्षति गरेको छ ।