भक्तपुर। २० भदौ
भक्तपुरको सूर्यविनायक नगरपालिकाले स्थानीयलाई साना उद्यमी बनाउने भएको छ । पालिकाले गरिबी निवारणका लागि लघु उद्यमी विकास कार्यक्रमअन्तर्गत पालिकाका स्थानीयलाई साना उद्यमी बनाउन लागेको हो ।
त्यसका लागि सूर्यविनायक- १० स्थित चित्तपोल वडा कार्यालयमा एक दिन वडास्तरीय अभिमुखीकरण कार्यक्रम गरेको छ । उपमेयर जुना बस्नेतका अनुसार सो वडाको ८० महिला, पिछडिएका समुदाय, दलित र जनजातिलाई कार्यक्रमबाट प्राथमिकतामा राखिनेछ ।
उनले उद्यमी बन्न चाहनेका लागि सातदिने तालिम दिइने जानकारी गराइन् । बस्नेतले तालिमबाट छनोट भएकालाई समूह बनाई तीनमहिने थप तालिमसँगै व्यवसायी बनाउने बताइन् ।
वडाअध्यक्ष शिवराम राउतका अनुसार त्यसका लागि पालिकाबाट दुई जना सहजकर्ता खटाइनेछ । सहजकर्ता घरघरमा गई उद्यमी बन्न चाहनेको तथ्यांक संकलन गरिनेछ। उनले स्थानीयको माग र आवश्यकताको आधारमा सिपको तालिम दिइने र आवश्यक सामग्रीसमेत पालिकामार्फत व्यवस्था गरिदिने उल्लेख गरे ।
तालिममा सहभागी भएका स्थानीय अनिवार्य रुपमा उद्यमी बन्नुपर्ने सो कार्यक्रमको नीति रहेको बस्नेतले बताइन् ।