सुर्खेत । बाढीपहिरो पीडित र अन्नबालीमा क्षति भई प्रभावित भएका कृषकलाई कर्णाली प्रदेश सरकारले राहत उपलब्ध गराउने निर्णय गरेको छ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको प्रदेश विपद व्यवस्थापन परिषदको बैठकले बाढी पहिरो पीडितलाई राहत प्याकेज घोषणा गरेको हो ।
यस्तै बैठकले ज्यान गुमाएका परिवारलाई प्रदेश सरकारले गरेको सामूहिक विपद् दुर्घटना बीमाबाट प्राप्त हुने २ लाख रुपैयाँ तत्काल उपलब्ध गराउने निर्णय गरेको छ।
कृषकको अन्नबालीमा भएको क्षतिको यकिन विवरण संकलन गरी आवश्यक क्षतिपूर्तिको व्यवस्था गर्ने, बाढी पहिरोमा घाइते भएकाहरूको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने कर्णाली सरकारले निर्णय गरेको छ ।
बाढी पहिरोमा क्षतिग्रस्त पूर्वाधारहरुको स्थानीय सरकारसँग सहकार्य गरि पुनःनिर्माणको व्यवस्था मिलाउने निर्णय पनि कर्णाली सरकारले गरेको छ । कर्णाली प्रदेशमा बाढी पहिरोबाट सात जनाको ज्यान गएको छ।