काठमाडौं। प्रदेश-१ मा गठबन्धनका सांसद् राजेन्द्र राई मुख्यमन्त्री बन्ने भएका छन् ।
भदौ १ गते सरकारले अध्यादेश ल्याएसँगै नेकपा एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादी पार्टीका सांसद राजेन्द्र राई गठबन्धनको तर्फबाट मुख्यमन्त्री बन्ने भएका हुन् ।
भीम आचार्यभन्दा अगाडि नेकपा एमालेका शेरधन राई मुख्यमन्त्री थिए। उनी तत्कालीन नेकपाका ६६ सांसद्को सहमतिमा मुख्यमन्त्री बनेका थिए । प्रदेश सत्तारुढ दलकाे निर्णयले राई हटेर एमालेका भीम आचार्य मुख्यमन्त्री बनेका थिए ।
आजै भीम आचार्यले विश्वासको मत लिनका लागि प्रदेश १ संसदमा प्रस्ताव पेस गरेका छन् । उनले विश्वासको मत पाउने सम्भावना न्यून छ ।
आचार्यको पक्षमा नेकपा एमालेका ४१ सांसद छन् । राप्रपाका सांसद कता खुल्छन् भन्ने खुलेको छैन । राप्रपाका १ सांसदले एमालेलाई साथ दिए भीम आचार्यको पक्षमा ४२ सांसद हुन्छन् ।
गठबन्धनको पक्षमा कति छन् संसद
मुख्यमन्त्रीले विश्वासको मत मागिरहँदा गठबन्धनको तर्फबाट मुख्यमन्त्रीको रुपमा नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र राईलाई अघि सारिएको छ ।
गठबन्धनमा नेकपा एसका १०, नेकपा माओवादी केन्द्रका १५, नेपाली कांग्रेसका २१, जसपाका तीन सांसद गरी ४९ सांसद् छन् । संसद्मा राप्रपाका १ संसद छन् । प्रदेश-१ मा कुल ९२ सांसद् छन् ।