काठमाडौं । वरिष्ठतम् न्यायाधीशहरूको छलफल सकिएको छ । सर्वोच्चमा मुद्दा प्रभावित हुने देखेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग सर्वोच्चका वरिष्ठतम् पाँच न्यायाधीशबीच छलफल भएको हाे ।
बैठकपछि सर्वोच्चमा इजलास सुरु भएको छ । प्रधानन्यायाधीश र वरिष्ठतम् न्यायाधीशबीच के सहमति भयो, भन्ने खुलेको छैन ।
प्रधानन्यायाधीश जबराको न्यायिक भूमिकामाथि प्रश्न उठाउँदै सर्वोच्चका न्यायाधीशहरूले इजलास बहिष्कारको चेतावनी दिएपछि सर्वोच्च अदालतमा मुद्दा सुनुवाइ प्रभावित भएको थियो ।
प्रधानन्यायाधीशले कार्यपालिकामा भाग खोजेको, मुद्दाको फैसलामा चलखेल गरेको लगायतका आरोप लगाउँदै पूर्वन्यायाधीशहरू र नेपाल बार आन्दोलित भएपछि सर्वोच्चकै न्यायाधीशसमेत इजलास बस्न मानिरहेका छैनन् ।
केही न्यायाधीशले प्रधानन्यायाधीशमाथि उठेको प्रश्नको निरूपण नभएसम्म इजलास बस्न नसकिने बताएपछि मुद्दाको सुनुवाइ प्रभावित भएको थियो ।
वरिष्ठतम् न्यायाधीशहरूसँगको छलफल सकिएपछि नेपाल बारको टोली प्रधानन्यायाशीध जबरा भेट्न सर्वोच्च पुगेको छ ।
अहिले प्रधानन्यायाधीश र बार टोलीबीच छलफल भइरहेको छ ।
रणनीति बनाउन दिउँसो साढे १ बजे बैठक बस्ने भएको छ ।