काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले मात्रै लोकतन्त्र, संविधान र गणतन्त्रको रक्षा गर्ने दाबी गरेका छन् ।
मंगलबार नेकपा एमाले पालिकास्तरीय अधिवेशन उद्घाटनका क्रममा ओलीले यस्तो दाबी गरेका हुन् ।
‘राष्ट्र निर्माणका बारेमा सोच्ने अरु कुनै पार्टी छैन । एमाले मात्रै छ । अरु पार्टी साना स्वार्थको भूमरीमा रुमलिरहेका छन् ।’ ओलीले भने, ‘हाम्रो पार्टी एक्लैले संविधानको रक्षा गर्ने, गणतन्त्रको रक्षा गर्ने, यसको सही ढंगले कार्यान्वयन गर्ने, यसलाई सफलतापूर्वक अघि बढाउने जिम्मेवारी लिएको छ ।’
उनले देशलाई सामाजिक न्याय, शान्ति सुव्यवस्था र मानवीय मूल्यको मर्यादा समेतका आवश्यकतालाई हासिल गरेर 'समृद्ध नेपाल, सुखी नेपाली' निर्माण गर्ने उद्देश्यमा एमाले मात्रै लागिपरेको बताए ।