घट्यो विद्युत महशुल दर

काठमाडौं । विद्युत् नियमन आयोगले नयाँ महशुल दर कायम गरेको छ । आयोगले नेपाल विद्युत् प्राधिकरणको सिफारिसमा नयाँ महशुल कायम गरेको हो । 

नयाँ महशुल दरअनुसार आगामी मंसिर महिनाको विद्युत् खपतमा अर्थात् पुस महिनाको पैसा तिर्दा उपभोक्ताले नयाँ महशुल दरअनुसार तिर्नु पर्नेछ । 

नयाँ विद्युत दर अनुसार विपन्न वर्ग अर्थात् पाँच एम्पियरबाट मासिक २० युनिटसम्म खपत गर्ने उपभोक्तालाई इनर्जी शुल्क लाग्ने छैन । त्यसैगरी, न्यूनतम मासिक शुल्क ३० रुपैयाँ मात्रै तोकिएको छ ।

मासिक चार सय युनिटसम्म विद्युत् प्रयोग गर्ने थ्री फेज ग्राहकले हाल प्रतियुनिट ११ रुपैयाँ ५० पैसा इनर्जी शुल्क तिर्ने गरेका छन् । 

अब वर्षायाम र हिउँदमा फरक-फरक विद्युत महशुल तिर्नु पर्नेछ ।

सिंगल फेजबाट विद्युत लिएर एक सय ५१ देखि दुई सय ५० युनिटसम्म खपत गर्ने उपभोक्तालाई इनर्जी शुल्क ५० पैसा घटाई प्रति युनिट नौ रुपैयाँ ५० पैसा कायम गरिएको छ ।

चार सय युनिटभन्दा माथि विद्युत् खपत गर्ने उपभोक्तालाई इनर्जी शुल्कमा प्रति युनिट एक रुपैयाँ घटाएर ११ रुपैयाँ कायम गरिएको छ ।

थ्री फेज मिटर प्रयोग गर्ने उपभोक्ताका लागि न्यूनतम शुल्क यथावत् राखेर इनर्जी शुल्क वर्षायाम र हिउँदमा फरक–फरक तोकिएको छ ।

मासिक चार सय युनिटसम्म विद्युत् प्रयोग गर्ने थ्री फेज ग्राहकलाई हाल प्रति युनिट ११ रुपैयाँ ५० पैसा इनर्जी शुल्क लाग्ने गरेकोमा अब वर्षायाममा १० रुपैयाँ ५० पैसा र हिउँदमा ११ रुपैयाँ ५० पैसा लाग्नेछ ।

चार सय युनिटभन्दा बढी विद्युत् खपत गर्ने ग्राहकका लागि हाल कायम प्रति युनिट १२ रुपैयाँ इनर्जी शुल्कलाई वर्षायाममा घटाएर १० रुपैयाँ ५० पैसा र हिउँदमा ११ रुपैयाँ ५० पैसा तोक्ने प्रस्ताव गरिएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.